यस्तो पनि : आफ्नै ज्यान लिन खोजेको आरोपमा जेलमा

यस्तो पनि : आफ्नै ज्यान लिन खोजेको आरोपमा जेलमा

एजेन्सी । नाइजेरियामा २५ वर्षीय एक बेरोजगार युवाले हप्तौँसम्म भोकै रहनुपरेपछि आत्महत्याको प्रयास गरे । तर आफ्नै ज्यान लिन खोजेको आरोपमा उनलाई थुप्रै हप्ता जेलमा थुनियो । वास्तवमा जागिरको खोजिमा लामो समयदेखि भौतारिरहेका इफियानी उगोक्वेलाई एक कम्पनी बाहिर सुरक्षा गार्डले धक्का दिएर भुईँमा लडाएपछि उनले जीवनसँग हरेस खाएका हुन् ।

उनले भनेका छन्, ‘म त्यस दिन हिँड्दा हिँड्दा थाकिसकेको थिएँ तरपनि म त्यहाँ काम गर्न चाहान्थेँ । यसकारण म जबरजस्ती भित्र पस्न खोजेँ । अत्यन्तै थाकित र भोको भएकाले मैले गार्डलाई हात जोडेर बिन्ती समेत गरेँ किनकी मलाई केही खानु थियो ।’ तर हजारौँ प्रयासपछि पनि त्यसरी अपहेलित हुनुपरेपछि उनले हार मानेर नजिकैको समुद्रमा हाम फालेका थिए । त्यसैबेला एक माछा मार्ने व्यक्तिले उनलाई फेला पारि पुलिसकहाँ पुर्याए जसपछि उनलाई गिरफ्तार गरि जेलमा थुनिएको हो ।

यसरी नाइजेरियामा आत्महत्याको प्रयासलाई गम्भीर अपराधका रुपमा लिने गरिएको छ । दोषीलाई एक वर्षसम्मको जेल सजाय समेत दिइने गरेको पाइन्छ । तर यसबारेमा थाहा नभएका कारण धेरै युवा आत्महत्याको विफल प्रयासपछि जेलमा थुनिने गरेका छन् ।

उगोग्वेलाई पनि त्यसैगरी कैद गरि राखियो जहाँ उनी पनि आफ्नो गल्तीबारे अज्ञात थिए । आफूले कसैलाई हानि नपुर्याए पनि किन जेलमा राखियो भन्ने कुराले उनी झन तनावग्रस्त बने र फेरि पनि आत्महत्याको प्रयास गरे ।

आत्महत्याको प्रयास विफल हुँदा पहिले त उगोक्वे आफेँसँग आक्रोशित थिए । तर पछि भने उनलाई आफ्नो जीवनमाथि सरकारले नियन्त्रण लिन खोजेकामा झन् अन्याय महसुस भयो । यसैकारण उगोग्वेले नाइजेरियामा यो विषय संवेदनशील मानिए पनि अरु मानिसले आफूजस्तै दुःख नपाऊन् भनेर यो घटनालाई बाहिर ल्याइरहेको संचार माध्यम सिएनएनसँग बताएका छन् ।

उनी जस्तै व्यक्तिको मद्दत गर्ने एक सामाजिक संस्थाको मद्दतले उगोग्वे केही हप्तापछि नै जेलमुक्त भए । तर अझै गम्भीर मानिसक रोगका बिरामीहरुका लागि यस प्रकारका मुद्दा कानुनी रुपमा धेरै जटिल हुने गरेको कानुन विशेषज्ञ चेलुन्ची ओन्येमेलुक्वेको भनाइ छ । ओन्येमेलुक्वे नाइजेरियाको आत्महत्या सम्बन्धि सो कानुनमा बदलाव ल्याउने अभियानमा सक्रिय रहँदै आएका छन् ।

सन् २०१७ मा मात्र विश्व स्वास्थ्य संगठनले सार्वजानिक गरेको अफ्रिकाभरको रिपोर्टमा नाइजेरियामा सबैभन्दा बढी मानिस मानिसक तनावको शिकार हुने गरेको पाइएको थियो । त्यहाँ ७० लाख भन्दा बढी मानिस मानसिक रोगले ग्रस्त रहेको भेटिएको छ । वास्तवमा आत्महत्याका घटना बढ्दै जानुमा मानिसक तनावलाई सबैभन्दा प्रमुख कारक मानिएको छ । जुन अफ्रिकामा विशेषगरी गरिबीका कारण उत्पन्न हुने गरेको पाइन्छ ।

नाइजेरियाका साथै घाना, केन्या, तान्जानिया, युगान्डा, मालावी, गाम्बिया र दक्षिण सुडानमा पनि आत्महत्या प्रतिबन्धित गरिएको छ । अफ्रिकामा प्रत्येक वर्ष १ लाख मानिस मध्ये ९.९ प्रतिशत पुरुष र ४.५ प्रतिशत महिलाले आत्महत्याको प्रयास गर्ने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्