धनगढी प्रिमियर लिगको तेस्रो संस्करणलाई आईसिसीको मान्यता

धनगढी प्रिमियर लिगको तेस्रो संस्करणलाई आईसिसीको मान्यता

काठमाडौं ।

धनगढी प्रिमियर लिगको तेस्रो संस्कणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी)ले बुधबार मान्यता दिएको छ । प्रतियोगिता धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा माघ २६ गतेबाट हुनेछ ।
आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बुधबार प्रतियोगितालाई आईसिसीले मान्यता दिएकाले विदेशी खेलाडी अनुबन्ध गर्न प्रतिस्पर्धी टोलीहरुलाई सहज हुने विश्वास व्यक्त गरेका छन् ।

“प्रतियोगिताले आईसिसीको मान्यता पाएको यहाँलाई जानकारी गराउँदछौं,” धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “आईसिसीको मान्यतासँगै आफू मातहतका सम्पूर्ण सदस्य राष्ट्रलाई प्रतियोगिताबारे जानकारी गराएको जनाएको छ । यसले प्रतियोगितामा सहभागिता जनाउने विदेशी खेलाडीको प्रक्रियामा पनि सहज हुने विश्वास हामीले लिएका छौं ।”

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले ट्वान्टी–२० स्वरुपमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी टोलीले आफ्नो टिममा दुई विदेशी खेलाडी राख्नैपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय खेलाडीलाई समावेश गरेपछि आयोजकले स्थानीय निकायसँगै आईसिसीको पनि मान्यता लिनु आवश्यक हुन्छ । एउटा टिममा अक्सनबाट ११ खेलाडी, १ स्थानीय प्रतिभा, १ मार्की प्लेयर र २ विदेशी गरी १५ खेलाडी हुन्छन् ।
धनगढी प्रिमियर लिगमा पहिलो पटक राष्ट्रिय टोलीका कप्तान पारस खड्का हुनेछैनन् । पारससँगै सन्दीप लामिछाने पनि प्रतियोगितामा हुनेछैनन् । पारस कप्तान रहेको टिम चौराह धनगढीले अघिल्लो दुवै संस्करणको फाइनल खेलेको थियो । 

टिम चौराह धनगढी पनि यो संस्करणमा हुनेछैन । चौराहको स्थानमा धनगढी स्टार्स प्रतियोगितामा समावेश गरिएको छ । धनगढी स्टार्सबाहेक प्रतियोगितामा महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ । लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । पहिलो र दोस्रो स्थानको टोलीबीचको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीचको विजेतासँग पुनः फाइनल प्रवेशका खेल्ने अवसर पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्