नेपालको कम्जोर ब्याटिङ , यूएईसंग ३ विकेटले पराजित

नेपालको कम्जोर ब्याटिङ , यूएईसंग ३ विकेटले पराजित

काठमाडौं माघ ११ । कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएपछि नेपालले शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा युनाइटेड अरब इमिरेट्स(यूएई)लाई ३ विकेटको नतिजा सुम्पिएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभर खेलेर १ सय १३ रन जोड्दा सबै विकेट गुमायो । १ सय १४ रनको लक्ष्य घरेलु टोली यूएईले ३२.१ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो ।

बलिङमा राम्रो गरे पनि लामो समयदेखी ब्याटिङमा समस्या झेल्दै आएको नेपालले शुक्रबार ब्याटिङ लाइनअफमा केही परिवर्तन गरेको थियो । मध्यक्रममा ब्याटिङ गर्ने विनोद भन्डारीलाई ओपनरका रुपमा पठाएको नेपालले सोमपाल कामीलाई पनि ‘टु डाउन’ मा ब्याटिङ गराएको थियो । त्यस्तै पहिलो पटक राष्ट्रिय टोलीमा परेका पवन सर्राफलाई डेब्यू गरायो । तर ब्याटिङमा नेपालको कुनै पनि रणनीति प्रभावकारी देखिएन ।

नेपालका सोमपाल कामीले ३०, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० र सन्दीप लामिछनेले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लेग स्पिनर सन्दीप र आरिफले नवौं विकेटका लागि २५ रनको साझेदारी गरेपछि नेपाल १ सय रनको योगफल पार गर्न सफल भएको थियो । ८१–८ को स्थितीबाट सन्दीप र आरिफले नवौं विकेटका लागि २५ रनको साझेदारी गरेपछि भ्रमणकारी नेपाल १ सय रनको योगफल कटाउन सफल भएको हो ।

त्यसअघि पारस खड्का र सोमपाल कामीले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । पारस आउट भएपछि सोमपाल र आरिफले पाँचौ विकेटका लागि २४ रनको साझेदारी गरे । नेपालको इनिङमा बनेको ठूला साझेदारी यी मात्र हुन् । यूएईका कप्तान मोहम्मद नाभीद र अमिर हायतले समान ३÷३ विकेट लिँदा इमरान हैदरले २ तथा कादीर अहमदले १ विकेट लिए ।

ब्याट्सम्यानले राम्रो प्रदर्शन गुरेपछि बलरमाथि दबाब परेको थियो । तर नेपाली बलरले त्यो दबाब चिर्दै नेपाललाई जिताउने प्रयास गरेका थिए । १ सय १४ रनको लक्ष्य जोगाउने नेपाली बलरको प्रयास सफल हुन सकेन । १९.२ ओभरमा युएई ७३–७ को स्थितीमा थियो । त्यतिबेलासम्म नेपालको आशा कायमै रहे पनि तल्लोक्रमका अमिर हायत र इमरान हैदरले ४१ रनको अविजित साझेदारी गरेपछि नेपालको आशा समाप्त भयो ।

नेपालका करण केसी, पारस खड्का र सन्दीप लामिछानेले समान २÷२ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिएका छन् । करणले यूएईका ओपनर अशफाक अहमदलाई एलबिडब्लू आउट गरेका थिए । सोमपालले अर्का ओपनर चिराग सुरीलाई बसन्त रेग्मीमार्फत क्याच गरे । करणले नवौं ओभरमा शाइमन अनवारलाई बोल्ड गरे । १४औं ओभरमा मुहम्मद उस्मानलाई नेपालका कप्तान पारसले विकेटकिपर विनोद भन्डारीमार्फत क्याच गराए । सन्दीपले शब्बरलाई दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरे भने र फाहज नवाजलाई बोल्ड गरे । पारसले मोहम्मद बुतालाई पनि बसन्तमार्फत क्याच गरे ।

यूएईका गुलाम शब्बरले ३० तथा शाइमन अनवारले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । तर अमिर हायत र इमरान हैदरले आठौं विकेटका लागि ४१ रनको अविजित साझेदारी गरेपछि घरेलु टोली ३ विकेटको जित निकाल्न सफल भयो ।

नेपालका विनोद भन्डारी, पवन सर्राफ र ललितनारायण राजवंशीले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरे भने यूइएका फाहज नवाजले डेब्यू गरे । ललितनारायणलाई कप्तान पारसले बलिङमा विश्वास गरेनन् । अनुभवी स्पिनर बसन्त रेग्मीलाई पनि १ ओभरमात्र बलिङ गर्न दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्