धनगढी स्टार्सले अनुबन्ध गर्यो दुई विदेशी खेलाडी , विराटनगरसँग पहिलो खेल

धनगढी स्टार्सले अनुबन्ध गर्यो दुई विदेशी खेलाडी , विराटनगरसँग पहिलो खेल

काठमाडौं माघ २० ।

तेस्रो संस्करणको धनगढी प्रिमियर लिग क्रिकेटका लागि घरेलु टोली धनगढी स्टार्सले दुई विदेशी खेलाडी अनुबन्ध गरेको छ । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढीले युनाइटेड अरब इमिरेट्सका रोहन मुस्तफा र भारतीय प्रथम श्रेणीका सागर त्रिवेदीलाई अनुबन्ध गरेको हो ।

दायाँ हाते ब्याट्सम्यान र अफस्पिनर मुस्तफाले युएई राष्ट्रिय टिमको लागि २७ एकदिवसीय अन्तर्राष्ट्रिय र २५ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । २०१५ मा इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सको लागि छनौट भएका सागर त्रिवेदी दायाँ हाते तिव्र गतिका बलर र बायाँ हाते ब्याट्सम्यान हुन् ।

धनगढीका टिम मालिक कृष्ण बोहराले दुई विदेशी खेलाडीको आगमनले टिम सन्तुलित हुने बताएका छन् । उनले भने, ‘हाम्रो टिम सन्तुलित बनाउने प्रयास स्वरुप दुई विदेशी खेलाडीहरुलाई ल्याएका हौँ । अक्सनमा चाहे अनुरुप ७० प्रतिशत खेलाडीहरु टिममा भित्र्याउन सफल भएका छौं । टिम कप्तान सोमपाल कामीले राम्रो टिम बनाउन प्रयास गरिरहनु भएको छ । हामी आशावादी छौँ आगामी ३ वर्ष धनगढी स्टार्सले राम्रो प्रदर्शन गर्नेछ ।’

धनगढी स्टार्समा पवन सर्राफ, सुनिल धमला, अमित श्रेष्ठ, सौरभ खनाल, विपिन खत्री, हरि बहादुर चौहान, दिपेश श्रेष्ठ, राजु रिजाल, सन्दिप रजाली, रोबिन क्षेत्री, धिरज शाही, कृष्ण ऐयर छन् । माघ २६ गतेबाट सुरु हुने डिपिएलको उद्घाटन खेलमा धनगढी स्टार्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

६ सहरका टोलीबीच फागुन ११ गतेसम्म प्रतियोगितामा उद्घाटन खेल बाहेक पहिलो चरणमा हरेक दिन दुई खेल हुनेछन्, जसअन्तर्गत पहिलो खेल बिहान ९ बजे र दोस्रो खेल दिउँसो १ बजेबाट सुरु हुनेछ । समूह चरणका अन्तिम २ खेलसँगै २ क्वालीफायर, एलिमिनेटर र फाइनल खेल छुट्टाछुट्टै दिन खेलिने छ । समूह चरणको शिर्ष ४ मा पर्ने टोली अर्को चरणमा प्रवेश गर्ने छन् ।

तालिकाको पहिलो दुई स्थानमा रहने टोलीले पहिलो क्वालिफायर खेल खेल्नेछन्, जसको विजेता सोझै फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले तालिकाको तेस्रो र चौथो हुने टोलीबीचको एलिमिनेटर विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्