बुढीगंगाकाे नहर छेउमा थोत्रो त्रिपालमुनि श्रवण-लक्ष्मीको प्रेम

<span class='c1'>बुढीगंगाकाे  नहर छेउमा</span> <span class='c2'>थोत्रो त्रिपालमुनि श्रवण-लक्ष्मीको प्रेम</span>

यति चोखो यति मीठो दिउँला तिम्लाई माया
बिर्सनेछन् साराले पुराना प्रेमका कथा….

गोपाल योञ्जनले यो गीतमा कसको प्रेम कुँदे ? या आफ्नै प्रेम कथालाई गीतमा ढाले ? अहिले जवाफ पाउन मुस्किल छ । तर, श्रवण र लक्ष्मी मण्डलबीचको प्रेमलाई अनुभुत गरेपछि नारायण गोपालले यी हरफ उनीहरुकै लागि गाएको जस्तो लाग्छ ।   यो चिसोमा घरको सिरकभित्र पनि मानिसहरु कामिरहेका हुन्छन् । तर, श्रवण र लक्ष्मी खुला आकाशमुनि परालको बिछ्यौनामा कसरी दिन काटिरहेका होलान् ? मानिसहरु एक छाक खान नपाउँदा छट्पटाउँछन् । तर, कैयौँ दिन भोकभोकै श्रवण कसरी मुस्काउन सकेका होलान् ?

मानिसहरु सानो चोट लाग्दा ऐया आत्था गर्दै अस्पताल धाउँछन् । तर, ट्रकले हिर्काएर हल न चल भएकी लक्ष्मीले विनाऔषधी कसरी दिन गुजार्न सकेकी होलिन् ?

मानिसहरु एकछिन झरीमा रुझ्दा शरीरको पार्टपुर्जाले राम्रोसँग काम गर्न छाड्छ । तर, गतिलो हावा नछेक्ने झिलापित्रा त्रिपालमुनि दिनहुँ लुछुप्पै परेर कसरी स्वास फेरिरहेका होलान् श्रवण-लक्ष्मी ? कल्पना मात्र गर्दा पनि आङ सिरिंग भएर आउँछ ।  लाग्छ, यो अद्भुत शक्ति उनीहरुबीचको प्रेमकै देन हो । र, नाफा-घाटामा प्रेमको व्यापार गर्ने आधुनिक मानिसहरुका लागि यसरी चरम अभावबीच पनि प्रेम जीवितै रहन सक्छ भन्ने ठूलो सन्देश हो ।

****

मोरङको बुढीगंगा-२ स्थित एउटा नहर छेउमा छ श्रवण र लक्ष्मीको ‘निवास’ । नुगाईएका दुई तीनवटा बाँसका दाउरामा राखिएका केही थोत्रा त्रिपाल र तन्ना नै उनीहरुको घर-संसार हो । जहाँ एउटा थाल, कचौरा, खाना पकाउने कसौडी र थोत्रो बाल्टी र तुम्लेट छन् । उनीहरुसँग सम्पत्तिको नाममा यत्ति त छ ।

यही घरमा ५५ वर्षकी लक्ष्मी प्रायः सुतिरहेकी हुन्छिन् । मस्तिष्कमा भएको ट्युमरले दाहिने आँखा पूरै टालिएको छ र निधारमाथि ठूलो मासुको डल्लो छ । प्यारालाइसिस पनि उनैलाई दुःख दिन आइपुगेको छ । चल्दैन देब्रे  हर । उठेर बस्न सक्दिनन् लक्ष्मी । कसैले उठाइदिनुपर्छ । हिँड्न सक्ने त कुरै भएन । झरीमा रुझिरहने उनका कपालले काँइयो नदेखेको वर्षौं भैसक्यो । मधुरो सेतो स्वीटर र खुइलिएको नीलो कमिजले जाडो भगाउन मुस्किल पर्छ ।

विहान उठेपछि ६० वषिर्य श्रवणको पहिलो काम श्रीमतीको स्याहार हो । सबैभन्दा पहिले श्रीमतीको सुरुवाल खोलिदिन्छन् र प्याड परिवर्तन गर्छन् । दाउरा सल्काएर चिया पकाउँछन् । अनि साँचेर राखेको चिउरा वा बिस्कुटको टुक्रा खुवाउँछन् । लक्ष्मी आफैले खान सक्दिनिन्, श्रवनले खुवाइदिनुपर्छ । केही बाँकी रहे आफूले पनि खान्छन् । नत्र, पेटभरि पानी पिउँछन् र बाहिर निस्कन्छन् । श्रवण हाँस्दै भन्छन्, ‘म त बलियो छु पानी पिएर दिनभर बाँचीहाल्छु नी ।’

श्रवणसँगै निस्कन्छन् उनका पाँच कुकुर – सानु, राती, पांग्रे, काली, लुती । जुन उनको रक्षा कवच हुन् । अहिले उनीहरुका सन्तान भनेकै यीनै कुकुर हुन् ।

श्रवणको एउटा हातमा त्रिशुल हुन्छ, अर्कोमा सानो भाँडो । जटा कम्मरसम्म अइपुगेको छ, आधा फुलेको दाह्री छातीसम्म । निधारमा खरानी धर्सा, घाँटीमा खोइ केको माला । आधा हर रित्तै छ, आधामा कालो कछाड बाँधेका छन् । तीन वर्ष भयो श्रवणले यसरी बाबाको भेष धारण गरेको ।

उनी घर-घर पुगेर भीख माग्छन् । कसैले चामल दिन्छन्, कसैले एक दुई रुपैयाँ । कसैले दिएको थोत्रा सारी र कुर्ता सुरुवाल पनि बोक्छन् । प्रायः दिनको दुई-तीन बजे लक्ष्मीसम्म आइपुग्छन् श्रवण । लक्ष्मी झिंगा धपाउँदै भोको पेटसँग उसरी नै सुतिरहेकी हुन्छिन् । र, लक्ष्मीले प्रेमिल स्वरमा उठाउँछन्, ‘बाबु लक्ष्मी, उठ ।’ श्रवणलाई देखेपछि आलस्य लक्ष्मीको अनुहारमा चमक भरिन्छन् । लक्ष्मी कुकुरतिर हेर्दै भनिन्छन्, ‘कुत्ताले के खायो ?’

यतिबेलासम्म लक्ष्मीको शरीरमै दिसा पिसाब हुन्छ । श्रवणले प्याडसहित कम्मरमुनिको कपडा खोलेर नहरमा फ्याकिदिन्छन् र मागेर ल्याएको अर्को कपडा फेरिदिन्छन् ।

‘कपडा पनि कहिले दिन्छन् कहिले दिदैनन् । अहिले सारी च्यातेर बाँधिदिएको छु’, श्रवणले याचना गरे, ‘यिनलाई साह्रै दुःख छ । एउटा ह्वीलचियर मिलाइदिनु न, दिसा-पिसाबको लागि सजिलो हुन्छ, कहिलेकाँही घुमाउन पनि पाउँछु ।’ श्रवणलाई आफ्नो होइन श्रीमतिको चिन्ता छ ।

फेरि उनलाई खाना पकाउनको हतार हुन्छ । भाँडा र चाउचाउको प्लाास्टिकमा पोको पारेर ल्याएको चामल र तरकारी पकाउन कसिन्छन् । एउटै थालमा लक्ष्मी र आफूले खान्छन् । श्रवण बोल्छन्, ‘म भोको भएर पनि उनलाई खुवाउँछु । हामी दुवै भोकै बसेका दिन पनि गनिसाध्य छैनन् ।’

****

श्रवण ६ वर्षको हुँदा आमाले छोडेर गइन् । उनको जमिन थिएन । त्यसैले मोरङकै साहुको घरमा काम गर्न थाले । भाडा माझ्नेदेखि गाईबस्तु स्याहार गर्नेसम्मको काम थियो उनको । ६ कक्षासम्म पढे पनि । जब उनका मालिक रहेनन्, विस्तारै उनका लागि पनि त्यो घर बिरानो हुन पुग्यो ।र, उनी बनारस पुगे । ब्राम्हण ज्ञानका लागि पुगेका थिए उनी बनारस ।

२४ वर्षको लक्का जवान भएपछि नेपाल फर्किए । त्यहीबीचमा साथीहरुसँग लक्ष्मीको हात माग्न गए, श्रवण । लक्ष्मीको घर कठारी ८ विराटनगरमा थियो । लक्ष्मीलाई लिएर मोरङको दक्षिणस्थित कालिका मन्दिर पुर्‍याए । त्यहीँ विहे गरे र त्यसैको छेउमा छाप्रो हालेर बसे ।

परिवार त पाल्नुपर्‍यो ! त्यसैबेला उनी रिक्सा चालक बने । दिनभरी रिक्सा हाँकेर बेलुकी घर फर्कन्थे । श्रीमतीको अनुहारले जीवनको सबै दुःख भुलाउँथ्यो श्रवणको । ‘मैले उनलाई कहिल्यै काम गर्न दिइनँ । सकेसम्म सँधै मासु भात नै खुवाउँथेँ’, श्रवण अतितमा पुग्छन् ।

अपसोच, लक्ष्मीको निधारको आकार बढ्दै गयो । श्रवणले भरतपुर क्यान्सर अस्पतालसम्म पुर्‍याए । तर, डाक्टरले भनिदियो, ‘टाउकोभित्र हाड उम्रिएको छ, अप्रेशन गर्न मिल्दैन ।’ ‘त्यतिबेला राजा वीरेन्द्रको सरकार थियो र स्वास्थ्यमन्त्री पनि हस्पीटल आउनुभएको थियो’, श्रवणसँग सम्झना ताजै छ, ‘मन्त्रीजीले मेरो जहानलाई पनि हेर्नुभएको थियो ।’

****

केही वर्षपछि प्रेमको नासो छोरालाई जन्म दिइन् लक्ष्मीले । उनीहरुले मायाले नै हुर्काए । तर, छोराले विहे गरेेपछि बुहारीलाई आमा मन परेन । घिन लाग्यो । विस्तारै छोरालाई पनि आमा-बा मन पर्न छोड्यो ।

‘उसले हेला गर्न थाल्यो । कतिपटक भाग्न खोज्यो,’ श्रवण भन्छन्, ‘कतिपटक हात नै हाल्न आइपुग्यो । त्यसपछि जहाँ जान्छस् जा भनिदिएँ ।’ छोरा बुहारी अलप भए, झुपडीको सदस्य श्रवण-लक्ष्मी र कुकुर मात्र भए । श्रवणको पेसा उस्तै थियो जोगवेनीदेखि बिराटनगरसम्म रिक्साको ह्यान्डल बटार्ने । तर, १३ वर्षअघि श्रीमतीलाई ट्रकले हानेर देब्रे खुट्टा र हात बाँचिदियो । श्रवणसँग उपचार गर्ने ल्याकत भएन । भन्छन् नी, दशाले पनि दुःखीलाई नै खेद्छ । हो त्यस्तै भयो श्रवण दम्पत्तीलाई ।

तर, श्रवणले सकेसम्म श्रीमतीलाई सकेसम्म स्याहार दिए । बेला-बेला आफ्नो रिक्सामा राखेर डुलाउन निस्कन्थे । जीवनले जे दिन्छ त्यसैमा सन्तुष्ट नै थिए । श्रवण-लक्ष्मीमाथि फेरि अर्को बज्र आयो । श्रवणमाथि नै डाकु लाग्यो, २४ हजार रुपैयाँसहित रिक्सा लुटियो । अब श्रवणसँग प्रेमबाहेक अर्थोक बाँकी रहेन ।

केही दिन त मागेरै खाए । केही समयपछि उनले श्रीमतीलाई बोके र कुकुरलाई अघि लाउँदै हलेसी पुगेर बाबाको ज्ञान लिए । अनि बने – अघोरी बाबा । श्रवण भन्छन्, ‘रहरले कोही जोगी बन्दैन । विपत्ले बनाउँछ बाबा ।’

अनि उनको ठेगान भएन । कहिले काशी पुगे त कहिले नयाँ दिल्ली । र, तीन वर्षपहिले यो नहर छेउ आईपुगेका छन् ।

यो झुप्रोमा उनीसँग पानी पिउने ग्लास छैन । श्रवण भन्छन्, ‘कसैले दुई प्लेट र एउटा तुम्लेट दिएका थिए । अब त त्यो पनि पुरानो भैसक्यो । केही छैन, न घर छ न द्वार ।’ उनीसँग एउटा फोहोर बाल्टी छ । नहरबाट पानी उठाएर लिउँछन् र त्यही बाल्टीबाट पिउँछन् ।

तर, पोहोर साल त्यही नहरमा बाढी आयो । उनले संगालेका झुत्रा कपडा र झुप्रो सबै बगाएर लग्यो ।

‘त्यतिबेला खुला आकाशमुनि बस्यौँ । कलेजका विद्यार्थीले दिएका विस्कुट खायो, कहिले होटेलले नै खान दिन्थे’, श्रवण फिस्स हाँस्छन् । धेरै गुमे पनि उनको अनुहारबाट हाँसो गुमेको छैन । कस्तो अचम्म, परिस्थिति जस्तो होस्, मुस्काउन त सकिँदो रहेछ नी ।

लक्ष्मीको अनुहारले पनि पीडा बताउँदैन । अब त बानी पनि परिसक्यो होला । बरु कहिलेकाहीँ श्रवणलाई गाली गर्छिन्, ‘मेरो छोरालाई कहाँ हालिस् ? छोराले हेर्थ्यो होला नि !’ अनि कहिलेकाँही रिसाउँदै भन्छिन्, ‘मेरो लागि किन यति धेरै गर्छस् ।’ श्रवण मौन बस्छन् ।

श्रवणले आफ्नो श्रीमतीसँगको मौनता हामीसँग तोडे, ‘हामी त सँगै जिउने सँगै मर्ने भनेर विहे गरेका हौँ । उसको प्राण र मेरो प्राण एउटै हो ।’ त्यसैले त लक्ष्मी उनको लागि कहिल्यै बोझिलो बनिनन् । श्रवणले आफ्नो सबैभन्दा ठूलो पीडा बिसाउँछन्, ‘म बिरामी भै हाले भने यिनी त मर्छिन् ।’

एमबीबीएस पढ्दै गरेका अविनास मण्डलले श्रवन-लक्ष्मीलाई देखेपछि केही समयपछि सहयोग गर्न पुगेका थिए । उनकै पहलमा अहिले एउटा टेन्ट पनि आइपुगेको छ । उनले लक्ष्मीको स्वास्थ्यबारे ख्याल पनि राख्छन् ।

लक्ष्मीको स्वास्थ्यबारे अविनास भन्छन्, ‘उनको टाउकोमा पानी जमेको छ । परीक्षणपछि मात्र थाहा हुन्छ कि उपचार हुन्छ हुँदैन ।’ हामी पनि अविनासकै सहयोगमा श्रवणको सम्पर्कमा पुगेका थियौँ ।

हुन त अहिले पनि लक्ष्मीको माइती घर छ । उनका भाइ पनि छन् । तर, कहिल्यै लक्ष्मीलाई भेट्न आएका छैनन् । छोरा-बुहारी मुम्बईमा भएको सूचना छ श्रवणसँग । तर, उनीहरुबाट केही आश भने छैन । भन्छन्, ‘१२ छोरा १३ नाति बुढाको धोक्रो काँधैमाथि भनेजस्तो भएको छ ।’ बरु घरबाट निस्कँदाको कुकुरले चार सन्तान जन्माएर गई । र, सानु, राती, पांग्रे, काली, लुती सन्तानको औचित्यमाथिको प्रश्न हुन् । साभार : विश्वास खड्काथाेकी/अनलाईन  खबर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्