विराटनगरको गुरुकुलमा रुवाबासी, सांसददेखि कलाकारसम्म रोए

विराटनगरको गुरुकुलमा रुवाबासी,  सांसददेखि कलाकारसम्म रोए

प्रेम देवान ।
विराटनगर, २८ माघ । पछिल्लो समय मान्छेको मन कठोर भईसकेका छन् । सामान्य कुरालाई वास्तै गर्दैनन् । साह्रै सहनै नसक्ने पिडा बाहेक धेरैले कमै मात्रामा आँसु खसाल्छन् । तर, विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटकघरमा एकाएक रुवाबासी देखियो । कारण थियो मञ्चन हुँदै गरेको नाटक मुनामदन ।
आरोहण गुरुकुलमा केही दिन देखि मञ्चन हूँदै गरेको नाटक मुनामदनले पछिल्लो समय दर्शकलाई निक्कै रुवायो ।
नाटक हेर्न हरेकदिन स्कुलले बालबालिका मात्र हैन सांसद देखि मन्त्रीसम्म पुग्ने गरेका छन् । सोमबारको नाटक हेर्न पुगेका धेरै सांसदहरु गहभरी आँसु पार्दै फर्र्किए । एक नम्बर प्रदेशकासांसद सावित्रा रेग्मी, विन्दीया कार्की र हाँस्य कलाकार तथा फिल्म निर्देशक दिपाश्री निरौला समेत नाटक हेर्न पुगेका थिए ।
मुनामदन नाटकको शुरुवाती मनोरञ्चनमा केन्द्रित छ , दर्शकले भरपुर हासोले् भरिएको पाउनेछन् तर विस्तारै नाटक बियोगान्त बन्दा धेरै दर्शक एकाएक रुन थाल्छन् । अनी नाटकघर नै रुवाईले भरिएको आभास हुन्छ ।
जति जति नाटकको अन्त्य तर्फ जान्छ, अनी दर्शक गहभरी आँसु पार्दै रुन थाल्छन् । नाटक हेर्न आएकी एक दर्शकले आँसु पुछ्दै भनिन्, ‘साँच्चि नै रुन पाए त म भक्कानिएर रुन्थेँ तर हल भित्र रुन नमिल्ने भएका कारण आँशुलाई दवाएर राखेँ ।’
किन रुन्छन् दर्शक ?
मुना मदन एक कारुणिक काब्य हो जसले मुना र मदनको बिछोडको प्रेम कथाको बर्णन गर्छ । मदन पैसा कमाउनको लागि प्रदेश ल्हासा जान्छन्, मदन बाटोमै बिरामी हुन्छन् । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरू घर फर्किन्छन् र मदनको मृत्यु भएको कुरा घरमा सुनाउँछन् । यो कुराले मुनालाई निकै पिडा हुन्छ । मदनको मृत्युको पिडा सहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमै अलपत्र अबस्थामा एक जना भोटेले फेला पार्छन् । उनले मदनको खुबै स्याहार गर्छन् । उनलाई निको पार्छन् । जब मदन निको भएर घर फर्कन्छ, त्यो बेलासम्म घरमा उनका आमा, मुना कोही हुँदैनन् । मुना र आमाको मृत्यु भएको खबर सुनेर उनी मर्माहत हुन्छन् । अनि आफु पनि मर्छन् । यहीँ अन्त्यहुन्छ नाटक मुना मदन । नाटक यो अबस्थामा आउँदासम्म दर्शक आफैँ विछिप्त भईसकेका हुन्छन् ।
नाटक पछि  
जब नाटक सकिन्छ, हलका बत्तिहरु एकाएक बल्दा सबैका आँखा रसाईरहेका थिए । धेरै दर्शक त नाटक सकिएर बाहिर निस्कँदा समेत आँखा पुछ्दै गरेका देखिन्थे । नाटक हेर्न पुगेकी प्रदेश सांसद बिन्दीया कार्कीले फिल्म हेर्दा समेत नरोएको भएपनि नाटकले रुवाएको बताईन् । ‘फिल्म हेर्दापनि म रोएको थिइन उनले भनिन्, आज यो नाटकले आँशु नै झारीदियो ।’ कलाकारहरुले पनि उति कै भिजेर नाटकमा अभिनय गरेकाले आफुलाई एक दमै राम्रो लागेको सुनाईन् । उनले नाटकको धेरै भागमा रोएको सुनाईन् । हिजो कितावमा पढेको कथालाई आज यसरी प्रत्यक्ष लाईभमा हेर्न पाईएकोमा खुसी ब्यक्त गरिन् ।
छक्का पञ्चाकी निर्देशक तथा हाँस्य कलाकार दिपाश्री निरौला पनि नाटकको अधिकांश समय रोएर बितेको सुनाईन् । आफू पनि कलाकारीता लाग्दा धेरै दुःख खेप्नु परेका दिनहरुको स्मरण गर्दै उनले भनिन्, ‘नाटकमा सबै कलाकारले सशक्त भुमिका निर्वाह गर्नुभएको रहेछ नाटकले साह्रै मन छोयो ।’ उनले नाटकमा खेल्ने सबै कलाकारहरु विद्यार्थी भएका कारण नाटकमा मात्र ध्यान नदिएर पढाईमा पनि ध्यान दिन आग्रह गरिन् ।
नाटक महाकवि लक्ष्मीप्रसाद देवकोटाको सवार्धिक चर्चित र लोकप्रिय कृति मुना मदन खण्डकाब्यमा आधारित छ । खण्डकाब्यलाई युवा साहित्यकार कटवाल दीपकले नाटकमा रुपान्तरण गरेका हुन् । नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् ।
कथालाई नाटकमा रुपान्तरण गरिपछिको कथावस्तुमा फरक रस पाईने भएकाले एक पल्ट हेर्न कट्वालले आग्रह गरे ।
विराट आदर्श साहित्य मञ्चनको आयोजना सुरु भएको नाटकमा लकेश लम्साल, सरु कटवाल, सम्झना आचार्य, वर्षा न्यौपाने, मिलन चाम्लिङ, जीविका लिम्बू, नवराज गिरी, मुस्कान तिम्सिना, नवराज नेपाल, रेजन राई, सन्देश बाराकोटी लगायतले अभिनय गरेका छन् ।
नाटकका सबै कलाकार विद्यार्थी हुन् । मञ्चले युवापुस्तालाई सिर्जनात्मक गतिविधिमा संलग्न गराउँदै सकारात्मक सोच र असल नागरिक बन्न प्रेरित गर्दै आएको  मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवाेदितले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्