३ जना युवाहरुको कथा :इमान्दारीता मरेको छैन भने पार्टीका सारा भ्रष्टहरुको हिसाब निकाल्नुस्

३ जना युवाहरुको कथा :इमान्दारीता मरेको छैन भने पार्टीका सारा भ्रष्टहरुको हिसाब निकाल्नुस्

आज एउटा कथाबाट प्रसंगका सुरुवात गर्न चाहन्छु । ३ जना युवाहरुको कथा । यी ३ जना नौजवानहरुलाई हेर्नुहोस् । यी ३ जना नौजवानहरु यो देश बदल्न भनेर संघर्षमा होमिए । यिनको संघर्ष, सामान्य छैन ।

आजको परिर्वतनको सारा श्रेय यी ३ जनालाई दिन त मिल्दैन तर यी ३ नवयुवकको योगदानलाई विर्सिए यो देशको इतिहास अधुरो चाँही हुन्छ । देव्रे पट्टिबाट पहिलो युवक संघर्षको दौरानमा कयाँै पटक जेल परे, यातना यतिसम्म दिइयो कि यिनको जिव्रोमा करेन्ट समेत लगाइयो ।

देशको सुदुर पश्चिमको ढडेल्धुराबाट आएका यी नौजवान यो देश बदल्न राजनीतिमा प्रवेश गरे । दोस्रो युवा जसले चरम यातनासहित १४ वर्ष जेलमा बिताए । कष्टकर जेलका दिनहरुबाट नआत्तिएर यीनले विना कुनै डर, त्रास संघर्षलाई निरन्तरता दिए ।

निडर, आटी, साहसी यी युवक झापाको एक गरीब किशान परीवारबाट संघर्ष गर्दै राजनीतिमा प्रवेश गरेका थिए । तेस्रो नवयुवक जसले परिवर्तनको जवरजस्त संखनाद गरे । संघर्षको त के कुरा बर्षौसम्म भुमिगत जीवन बाँचे र तत्कालीन शासकहरुले यिनको टाउकाको मोल नै राखे ।

ज्यानको वरवाह नगरी देश परीर्वतन गर्न हिडेका यी युवकको संघर्ष र योगदान अवर्णनिय छ । कास्कीको ढिकुरपोखरीको सामान्य किसान परिवारबाट राजनीतिमा होमिएका यी युवक जसरी पनि यो देश परिर्वतन गर्न चाहन्थे । सयम वित्दै गयो ।

समयसँगै परिर्वतनहरु पनि भए । आज ति नौजवान लड्दै, पढ्दै, हुर्किदै वृद्ध नै भए त नभनौँ तर परिपक्क भए । यी तिनै जना नौजवाहरु यो देशका प्रधानमन्त्रीसम्म भए । यी तिनै जनाको कथा फरक भएपनि उदेश्य एउटै, परिर्वतन । देश बदल्ने अठोट ।

ऋाज यी ३ जना यो देशका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । राजनीतिक परिर्वतन सफल भयो, संविधान निर्माण सफल भयो । फेर्न पर्ने सबै कुरा फेरियो । यिनको पनि जिवन फेरियो । यस्तो गाँउ र यस्तो घरबाट आएकाहरुको यस्तो घर भयो ।

मतलब यी तिन भूतपूर्व नौजवानहरुलाई के चाहिन्छ र अब ? एउटाको उमेर ७३ बर्ष, अकार्को ६८ बर्ष र अर्काको ५८ बर्ष । पहिलो भूपू नौ जवानको घर दरबारै जस्तो छ, छोरा विदेशी डिग्री लिएका, सम्पत्तीको कुरै नगराँै । दोस्रोको २ वटा सान्दार घर सन्तान नभएकाले कमाउन पर्ने कुनै बाध्यता नभएको, तेस्रोको शानदार जिवनशैली छोरी मेयर, नातिनातिनाहरु छन् तर तिनलाई नपुग केही छैन ।

यो देशका शक्तिशाली यिनै तीन जना हुन् । म ज्यादै गहकिलो, अर्थ बुझ्नै टाउको दुखाउनु पर्ने, जेरी जस्तो बेरिएको कुरा गर्दिन । आम मान्छेले बुझ्ने मात्र कुरा गर्छु । यी तीन जनाले चाहे भने के हुन्न यो देशमा । संघर्षको कथाहरु यी तिनै जनाको फरक भएता पनि अन्तिम चाहना एउटै हो, मुलुकको परिर्वतन ।

तर हैन रहेछ, अन्तिम चाहना सबैको अर्को पनि रहेछ, त्यो हो आँफू नै प्रधानमन्त्री बन्ने, आफ्नै नेतृत्वमा सरकार चलाउने । मुलुक परिवर्तनको एउटै एजेण्डा बोकेर आएका यिनको एजेण्डा फेरयो । नौजवान हुँदा देश मात्र सोच्थे, विस्तारै देश भन्दा पार्टी ठुलो भो, त्यसपछि पार्टी भन्दा आँफु नै ठुला भए ।

यिनले चाहेर पनि केही हुँदैन भने मान्नुस, त्यसो भए कसैले चाहेर पनि केही हुँदैन । राजनीति त्यती सहज र सजिलो कहाँ छ र भन्ने तर्क भएका महाबुझुक्कडहरुको गफको पछि लाग्न जरुरी छैन । इमान्दारका लागि राजनीति बहुत सरल छ । ३ करोड जनता भएको यति सानो देश हाँक्न स्वर्गबाट इन्द्र झर्नु पर्दैन ।

यो मुलुकका अधिकांश भ्रष्ट राजनीतिज्ञ मुलरुपमा यीनै ३ नेताको दलभित्रै छन् । अन्य दलमा पनि केही छन् तर यी ३ नेताका मातहतका नेताहरु संख्यामा धेरै छन् । यी ३ ले मर्नु अघि हाम्रो पार्टी भित्रको फोहोर सफा गराँै भनेर लागि परे भने राजनीति कति शुद्ध होला ।

अनि यो आँट गर्न टाउको मूल्य चडाए जत्रो आँट पनि चाहिन्न, यो आँट गरे बापत १४ बर्ष जेल जान पनि पर्दैन नत फेरी कसैले जिब्रोमा करेन्ट नै लगाउँछ । पार्टीगत भ्रष्टाचारमा वा राजनीतिक संरक्षणमा भएका भ्रष्टाचारमा यी तीनको सहमति वा मौन समर्थन भए बेग्लै कुरा हो ।

अन्यथा अकुत कमाएका नेताहरुको नाम उहाँहरुलाई मुखैमा कण्ठ हुनुपर्छ । भ्रष्टाचार सहन्न, समृद्धी ल्याएरै छोड्छौ भनिरहँदा कतै त्यही भाषण गरेको मञ्चमा नै अर्को भ्रष्ट मित्र ताली पड्काई रहेको त छैन ? गर्न चाहनु र गर्न जान्नु २ अलग कुरा हुन् ।

देश बन्दैछ मैले माने, तर सर्वहाराको नेताको त्यत्रो घर, सम्पत्ती कहाँबाट आयो बाबा । देश भन्दै गर्दा मलाई यो प्रश्नको उत्तरै नदिने ? देश बन्दै छ मैले फेरी पनि माने, भुँडी घेरै भात खाएर बढ्यो होला तर डेरा भाडा तिर्न नसकेर घरबेटीसँग लुक्दै लुक्दै हिड्नेको कैयाँै क्षेत्रमा लगानी, छोराछोरीको विदेशमा अध्ययन, हेर्दा टोपी खस्ला जत्रो घर, आयो कहाँबाट ?

देश बन्दै गर्दा मलाई यी प्रश्नको उत्तरै नदिने ? क–कस्को यस्तो छ भन्नुहोला । पार्टीका अधिकांश ठुला नेताको । देशका ३ भूतपूर्व नौ जवानहरु नै आज यो देशका शक्तिशाली नेता भएका छन् । तिनैको सपना साकार भएको, तिनै जीवन बदलिएको छ ।

तिनैको योगदानको व्यवस्था बदलिएको हो । तिनैलाई बिन्ति छ, एक पटक तिनै जना आँफु जन्मेको गाँउ र घरमा जानुहोस् र जीवनलाई फर्केर हेर्नुहोस् । तिनैमा इमान्दारीता मरेको छैन भने तीनै जना मिलेर पार्टीका सारा भ्रष्टहरुको हिसाब निकाल्नुस् । यसो गर्दा आफ्नै हिसाब मिलेन भने आँफैलाई समेत जेल हाल्न सकिने व्यवस्था मिलाउनु होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्