क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र, विभिन्न देशमा कार्यक्रम

क्रिकेट मैदान निर्माणका लागि आर्थिक सङ्कलन अभियान तीव्र, विभिन्न देशमा कार्यक्रम

काठमाडौँ, फागुन १ गते । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ ।

चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल ९धुर्मुस० र कुञ्जना घिमिरे९सुन्तली० अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन् ।

फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिनुभयो ।

रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उहाँहरु मलेसियामा हुनुहुन्छ । कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार सङ्कलन भएको हो ।

अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो ।

मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक रु दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गर्नुभएको छ । “रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ । मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छाँै ।”

फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो । हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारीको काम भइरहेको छ भने महीनाभित्र डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ ।

तीन महीनाअघि धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुर महानगरलाई रङ्गशाला बनाउनका लागि प्रस्तावपत्र पेश गरेको थियो । यसबीचमा फाउण्डेशनका तर्फबाट दक्ष प्राविधिकको टोली, फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललगायतले सो स्थानको अवलोकन गरी उपयुक्त रहेको ठहर गरेका थिए ।

दुई साताअघि काठमाडौँमा भव्य कार्यक्रमको आयोजना गरी रङ्गशाला निर्माणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा चितवनको भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

धुर्मुस–सुन्तली फाउण्डेशनले यसअघि ललितपुरको गोदावरीमा रङ्गशाला बनाउने प्रक्रिया शुरु गरेको थियो तर, प्राविधिकको समूहले त्यस ठाउँ उपयुक्त नभएको बताएपछि उनीहरु चितवनमा लागेका थिए । भरतपुर महानगर आफैँले पनि धुर्मुस–सुन्तली फाउण्डेशनलाई क्रिकेट रङ्गशाला बनाउने भए जग्गा उपलब्ध गराउने बताएको थियो ।

अध्यक्ष कट्टेलले एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेटका लागि आवश्यक रङ्गशाला छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको छ । “धेरै ठूलो परियोजना हो, हामीले आफैँले बनाउने आँट गरेका छौँ तर सरकार वा महानगरबाट सहकार्यका लागि प्रस्ताव भएमा हामी सहकार्य गर्नेछौँ”, कट्टेलले भन्नुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्