काठमाडाैँ । सन् १९७० को दशकसम्म त नेपालमा गाँजा कानुनी रूपले पसलमै पाइन्थ्यो । त्यसबेलासम्म Cannabis या यसका विभिन्न प्रकारका उत्पादनहरूले अलिकति चक्कर लगाएपनि खासै नराम्रो गर्दैन र वास्तवमा तनाबबाट मुक्ति दिन्छ भन्ने बुझिन्थ्यो ।
अझैपनि भांग शिवरात्रीको समयमा प्रचुरमात्रामा प्रयोग हुन्छ र यसलाई समान्य रूपमा लिनेहरूको जमात ठूलो छ । भगवान शिवले भांग, धतुरो आदि विभिन्न पदार्थहरू सेवन गर्ने र एक पौराणिक कथा अनुसार विष समेत पिएको हुनाले भांग प्रयोग गरी शिवजी जत्तिकै शक्तिशाली या कमसेकम उनको भक्त ठान्ने बाबाजीहरू शिवरात्रीको बेलामा भेटिन्छन् ।
त्यही मौकामा गाँजा तान्ने र भांग खाने/पिउने युवायुवती पनि भेटिन्छन् । अमेरिकाको केही राज्यहरूले Cannabis केही विशेष प्रकारका रोगीहरूलाई वितरण गर्न खुल्ला गरेकोले यो हानीकारक चीज होइन रहेछ भन्ने धारणा पनि विकसित भइरहेको पाइन्छ ।
एउटा Cannabis को विरुवामा झण्डै ४ सय रसायनिक तत्वहरू हुन्छन् । यीनीहरू मध्ये चार तत्वहरूले मस्तिष्कमा विशेष असर गर्दछन् ।
१. Delta-9- Tetrahydro-cannabinol (delta-9-THC)
२. Delta-8-THC
३. Cannabidiol
४. Cannabinol
यी मध्ये Delta-9-THC ले विशेष रूपले मानव मस्तिष्कमा असर गर्छ ।
तत्कालिक असरहरू
जब Cannabis लाई धुवाँमा तानिन्छ, यसका रसायनिक तत्वहरू बडो तेजीकासाथ रगतमा मिसिएर मस्तिष्क र शरीरका अन्य भागमा पुग्दछन् । तत्कालै हुने असर जसलाई ‘stoned’ या ‘high’ भनिन्छ– यो दिमागको ती भागहरूमा Cannabis को असरले हुन्छ जुन भागहरूले भावना, सोचाई र अनुभुति नियन्त्रण गर्दछन् ।
यस क्रममा उक्त व्यक्तिलाई खुशी अनुभव हुन सक्छ, आनन्द आउँछ, तनाव कम हुन्छ, निन्द्रा पनि लाग्न सक्छ, संगीत राम्रो सुनिन सक्दछ र रंगहरू विशेष गाढा देखिन सक्दछन् । तर १० मध्ये १ प्रयोगकर्ताहरूलाई चाहि उल्टो असर पर्न जान्छ– जसलाई नमज्जा हुने (unpleasant feelings), तनाव बढ्ने (Stressed), नभएका कुराहरू देखिने (Visual distortions or hallucinations) या सुनिने (Auditory distortions or hallucinations), मन आत्तिने (Anxiety) र कसैले हानि नोक्सानी गर्लाकी जस्तो लाग्ने (Paranoid thinking) पनि हुन सक्दछ ।
यस्ता विपरित असरहरू फरक फरक भावनात्मक अवस्थामा एउटै व्यक्तिलाई हुन सक्दछ । जस्तै एउटै व्यक्तिलाई गाँजा सेवन गर्नु अघि खुशी भएको अवस्थामा एक प्रकारको असर हुन सक्छ भने उही व्यक्तिले दुखी अवस्थामा गाँजा सेवन गर्दा अर्को असर हुन सक्दछ ।
गाँजा या भांग सेवन गरेपश्चात विभिन्न प्रकारका मनोवैज्ञानिक लक्षण लिएर अस्पतालको आकस्मिक कक्ष र मानसिक रोग विभागमा आइपुगेका युवाहरूलाई उपचार गर्ने क्रममा माथि वर्णन गरिएका सबैजस्तो तात्कालिक नकारात्मक असरहरू ती विभागहरूमा काम गर्ने स्वास्थ्यकर्मीको लागि नौलो होइन । खुशीको कुरा चाहिं के हो भने माथि वर्णन गरिएका असरहरू लामो समयसम्म प्राय: रहदैनन् ।
नकारात्मक मानसिक असरहरू देखा पर्दैनन् । सकेसम्म कसैले पनि गाँजा या भांग प्रयोग नगरेको राम्रो । तर यदी कुनैपनि नकारात्मक मानसिक असर परेको छ भने चाही तत्काल नै छोड्नु होला, नत्र उक्त प्रयोगकर्तालाई आत्तिने रोग, डिप्रेसन र साइकोसिस हुने सम्भावना ज्यादै बढी छ भन्ने बुझ्नु पर्छ।
साभार :मेन्टल हेल्थ नेपाल