झापा गोल्डकपको उपाधिका लागि झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै

झापा गोल्डकपको उपाधिका लागि झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दै

झापा, २६ फागुन । झापामा जारी चौथो झापा गोल्डकपको उपाधिका लागि सोमबार आयोजक झापा ११ र विभागीय टोली त्रिभुवन आर्मी क्लब भिड्दैछन् । उपाधि उचाल्न आफुहरु आतुर रहेको दुवै टिमका प्रशिक्षक र कप्तानको दावी छ ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि हालसम्म उपाधि उचाल्न सकेको छैन । आइतबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आयोजित ‘प्री म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षकहरुले उपाधिको लागि तयार रहेको बताएका छन् ।

विशेषगरी आयोजक झापा ११ यो पटक उपाधि घरमा नै राख्न फरक रणनीतिका साथ तयार रहेको देखिएको छ । झापा–११ का प्रशिक्षक प्रवेश कटुवालले यस पटक जसरी पनि उपाधि जित्ने दाउँमा रहेको बताए । ‘यो पटक हाम्रो टिम स्ट्रोङ छ’ उनले भने, ‘यस पटक अघिल्ला बर्षहरुको खेलको पनि समीक्षा गरेका छौँ, हामी यो पटक उपाधि जित्न लागि परेका छौँ ।’ त्यस्तै झापाका कप्तान कर्ण लिम्बुले यो पटक उपाधि उचाल्न आफुहरु मन र जोसँले फाइनल खेल्ने बताए ।

यता आर्मीका प्रशिक्षक प्रशिक्षक चुनबहादुर थापाले आफ्नो सेटका केही खेलाडी नभएकाले खेलमा केही असर गरेपनि टिम उपाधि जित्न तयार रहेको दाबी गरे । आर्मीका क्याप्टेन भरत खवासले झापा ११ राम्रो टिम रहेकाले उपाधिको लागि कडा प्रतिस्पर्धा गर्नुपर्ने भएको बताए । ‘झापा राम्रो टिम छ, उसको घरेलु मैदानमा फाइनल खेल्न हामीलाई त्यति सहज छैन’ उनले भने, ‘जित्ने चान्स् फिप्टिफिप्टी छ, पाएको अवसर सदुपयोग ग¥यौँ भने हामी जित्छौँ ।’

दर्शकको भरपुर समर्थन पाउदै आएको झापा तीन विदेशी खेलाडीसहित आफ्ना नियमित स्ट्राईकर कर्ण लिम्बु, डिफेन्डर देवेन्द्र तामाङ, दिलेन लोक्तामसहित मैदान उत्रने तयारीमा छ । आर्मी पनि आफ्ना नियमित फरवार्ड नवयुग श्रेष्ठ, भरत खवास र गोल रक्षक विकेश कुथुसहितका केही राष्ट्रिय खेलाडीसहित मैदान उत्रदैछ ।

१० टिमले सहभागिता जनाएका प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख ५ हजारसहित ट्रफी पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्