लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस लालिगा फुटबलमा आफ्नो फराकिलो अग्रता कायम राखेको छ । रियल बेटिसविरुद्ध ४–१ को जित निकाल्दै शीर्ष स्थानमा रहेको बार्सिलोनाले उपाधिहोड बलियो बनाएको छ । मेसीबाहेक बार्सिलोनाका लागि लुइस सुआरेजले पनि गोल गरे । मेसीले रियल बेटिसविरुद्ध आइतबार गरेको ह्याट्रिक तेस्रो हो ।
लालिगामा मेसीको यो ३३औँ ह्याट्रिक हो । लालिगामा सर्वाधिक ह्याट्रिकको कीर्तिमान पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले रियल म्याड्रिड छाड्नुपूर्व ३४ ह्याट्रिक लगाएका थिए । यद्यपि, रोनाल्डोले स्पेनिस लिग छाडिसकेकाले यो कीर्तिमान भविष्यमा मेसीको नाममा हुने लगभग पक्का छ ।
टिमका लागि ४ सय ७७ औँ जित
बार्सिलोनाको इतिहासमा अहिलेसम्म कुनै पनि खेलाडी छैन, जसले मेसीले भन्दा बढी जित दिलाएको होस् । मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६ सय ७४ खेल खेलेका छन्, जहाँ उनले ४ सय ७७ खेलमा टिमलाई जित आत्मसात् गराएका छन् । यसअघि यो रेकर्ड मेसीकै पूर्वसहकर्मी सावीको नाममा थियो ।
पछिल्ला १६ खेलमा अपराजित
बार्सिलोना प्रतियोगितामा पछिल्ला १६ खेलमा अपराजित छ । बार्सिलोनाले लिगमा अहिलेसम्म २८ खेल खेलेको छ, जसमा २० जित निकाल्दा ६ खेलमा बराबरी र बाँकी दुई खेलमा हार बेहोरेको छ । लिग अंकतालिकामा बार्सिलोना ६६ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग स्पष्ट १० अंकको अग्रता बनाएको छ ।
मेसीसँगै सुआरेजको गोल
मेसीले खेलको १७औँ मिनेटमा सानदार फ्रिकिकमार्फत पहिलो गोल गरे । ४६औँ मिनेटमा सुआरेजको पासलाई सदुपयोग गर्दै मेसीले २–० का लागि गोल गरे । तेस्रो गोल ६३औँ मिनेटमा सुआरेजले सम्भव बनाए । खेलमा गोलअन्तर कम गर्नेक्रममा ८२औँ मिनेटमा बेटिसका लोरेनले गोल गरे, तर ८५औँ मिनेटमा मेसीले सानदार गोल गर्दै ह्याट्रिक पूरा गरे ।
बेटिसका समर्थकको मेसीप्रेम
बेटिसविरुद्ध मैदानमा उत्रँदा बेटिसका समर्थकले लियोनल मेसीको समर्थनमा हुटिङ गरेका थिए । करिअरको ५१औँ ह्याट्रिक पूरा गरेपछि बेटिस समर्थकले मेसीलाई उठेर सम्मान गरेका थिए । मेसीलाई विपक्षी समर्थकले दिएको समर्थनले उत्साही बनायो । उनले भने, ‘मैले यस्तोखालको अपेक्षा गरेको थिइनँ । मैले योभन्दा अघि कहिल्यै यस्तो सम्मान पाएको थिइनँ ।’ बार्सिलोनाका लागि ४५औँ ह्याट्रिकपछि मेसीले भने, ‘जीवनभर बेटिसका समर्थकले गरेको यो सम्मान भुल्नेछैन ।’