उद्यममा विराटनगरकी सरुको संघर्ष : घुम्टोदेखि करोडपतिसम्म, यस्ताे छ संघर्षपुर्ण जीवन

उद्यममा विराटनगरकी सरुको संघर्ष : घुम्टोदेखि करोडपतिसम्म, यस्ताे छ संघर्षपुर्ण जीवन

विराटनगर, ९ चैत ।  विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र होइन, एक उद्यमी महिला पनि हुन् । उनका बुवा शुरूदेखि नै व्यवसायी थिए । १० कक्षामा पढ्दादेखि नै व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनले पढ्दादेखि नै घरमा बुवालाई सघाउने काम गर्थिन् ।

उनका बुबा बैंकका जागिरे थिए । बैंकको म्यानेजरको जागिर छाडेर उद्योगमा लगानी गरेपछि उनलाई पनि उद्यमबाट नै फाइदा हुने रहेछ भन्ने लाग्यो । ‘मेरा बुुवा व्यवसायी हुन्,’ केसीले भनिन्, ‘बुवाले खोलेको स्टील्स फ्याक्ट्रीबाट नै मेलै पनि उद्यममा लगानी गर्नुपर्ने रहेछ भन्ने सिकें ।’

उनले बुबालाई उद्योगमा सहयोग त गर्थिन् नै । त्योबाहेक आफैंले पनि केही गर्नुपर्छ भन्ने लागेर उनले सिलाइकटाई गर्ने, हस्तकला तथा शिल्पकला सम्बन्धी आफैंले केही गर्नुपर्ने रहेछ भनेर सिक्न थालिन् ।

कसैले लगाएको राम्रो स्वेटर, टीम्याट, झालर  लगायतका जे देख्यो त्यहीँ उनलाई बनाउन मन लाग्थ्यो । अनि घरमा आएर बनाउन थालिहाल्ने स्वभावकी हुन् । आफूले सिकेको सीप एकातिर थियो भने अर्कोतर्फ घरको फ्याक्ट्री चलाउनको लागि उनले खेल्नुपर्ने भूमिका । कलकत्तादेखि कालिगढ ल्याउनुपर्ने, आवास सुविधा दिनुपर्ने यी सबै काममा केसीले बुवालाई सहयोग गर्दै आएका थिइन् । त्यो बेला २–३ वटा मात्र देशभरमा स्टील्स् उद्योग थिए । पूर्वमा उनका बुवाले चलाएको जयदुर्गे आइरन नै पहिलो स्टील्स् उद्योग भएको उनले बताइन् ।

उनका बुवा बाहिर हिँडिरहनुपर्ने अवस्थामा जेठी छोरी भएकाले पनि सहयोगीको रुपमा उनले भरथेग गर्थिन् । घरमै स्टील्स् उद्योग थियो, त्यसले गर्दा पनि घरको काम हेर्न सहज भएको उनले सुनाइन् ।

विवाहपछि जेलिएको जीवन

‘विवाह गर्नुभन्दा पहिला नै उद्योग कसरी चलाउने भन्ने सबै जानिसकेको थिएँ,’ उनले भनिन्,  ‘एसएलसी दिएपछि २ घण्टा कम्प्यूटर पढ्ने समयबाहेक सबै समय घरकै उद्योगमा समय दिन्थें ।’ आईकम पास गरेर बीकम पढ्दा–पढ्दै सिरहाको सुखिपुरका उद्धव केसीसँग सरुको विवाह भयो ।

२०४९ सालमा उनले वकिल पेशामा आवद्ध केसीसँग विवाह गरिन् । विराटनगरमा हुर्कीबढेकी अनि पढेकी सरुको लागि सिरहाको विवाह निकै नै कष्टपूर्ण भयो । बिहे त गरिन् । तर उनलाई त्यहाँ बस्नै मन लागेन । बाहिरी खुल्ला संसारमा रमाएकी सरुका लागि त्यहाँ घुम्टोभित्र बस्नुपर्ने बाध्यता आइलाग्यो । उनको मनमा प्रश्न जन्मियो – कतिञ्जेल घुम्टोमा बस्ने ? उनी निकै नै सकसपूर्ण जीवनबाट बाहिरिन खोज्थिन् । उनले आफ्नो पतिलाई सिरहाबाट विराटनगरमै बसौं भन्न थालिन् । केही उद्यम गरेर जीवन गुजारा गरौं भन्ने सल्लाह भयो । वकिल भएकाले पति अदालतमा जाने अनि आफू बालबच्चा हुर्काउने सोचमा आएका उनीहरूको केही वर्ष निकै नै संघर्षपूर्ण भयो ।

सिरहामा महिलाले बाहिर हिड्नै नहुने भन्ने परम्परा थियो । त्यहाँबाट उनलाई सिरहामा बस्नुभन्दा बाहिरै हिँड्दा फाइदा छ भन्ने लाग्यो । अनि उनी आफ्नै अग्रसरतामा पतिसहित विराटनगरमा आएर बस्न थालिन् । उनीहरूलाई त्यहीँ बेला आर्थिक समस्या आइपर्यो । पतिको वकिल व्यवसाय पनि चलेन । कोठाभाडा तिर्नै समस्या हुन थालेपछि आम्दानीको स्रोतका लागि फेरि उनले बुवालाई सहयोग गर्न थालिन् । बुवालाई सहयोग गर्दागर्दै उनले बालबालिकाको क्षेत्रमा काम गर्न थालिन् ।

उनले बुवाले सञ्चालन गर्दै आएको फ्याक्ट्रीमा काम गर्दै छोराछोरी पढाउने काम गर्न थालिन् । उनका पति अमेरिका हानिए । उनले २ छोरीलाई हुर्काइन्, बढाइन् । पढाउने आफ्नो अभिभारा पनि उनले पूरा गर्दै गइन् । त्यहीँबीच उनका बुवाको निधन भयो ।

उनले विराट फूड प्रोडक्स ४ जनाको साझेदारीमा मिलेर हेल्थ फूड उद्योग सञ्चालन गर्न थालेको सुनाइन् । उनलाई त्यसबाट पनि राम्रै फाइदा भएको थियो । ‘साथीभाइसँग कुरा नमिलेपछि त्यो उद्योग बन्द गर्नुपर्यो,’ उनले भनिन्, ‘त्योभन्दा अगाडि नै उनले बुवा, भाइ र आफूले संयुक्त लगानीमा काम गर्न थालिसकेको थिएँ ।’

विराट फूड प्रोडक्स् बन्द भएपछि उनले फेरि न्यूटी केयर फूड प्रोडक्स्मा व्यक्तिगत लगानी गरिन् । उनले आस्था कृषि औजार समेत सञ्चालनमा ल्याइन् । आस्था कृषि औजार उद्योग बुवाको निधनपछि उनले भाइ र बुहारीसँग साझेदारी गरेकी छिन् । कृृषि औजारमा १४ जना कामदारसहित उद्योग चलाएकी छिन् भने न्यूटी केयर उद्योगमा ५ जना कर्मचारी राखेर काम गराएकी छिन् ।

उद्यममा उनको लगानी न्यूटी केयर फूड प्रोडक्स करीब ४ वर्ष पहिला १५ लाखबाट शुरू गरेकी हुन् । २० लाख रुपैयाँबाट शुरू गरेको कृषि औजार उद्योगको लगानी अहिले १ करोड रुपैयाँ नाघेको उनले सुनाइन् ।

उनले सामाजिक रुपमा सेतो गुराँस बाल विकास सेवामा अध्यक्षको रुपमा भूमिका निर्वाह गर्दै आएकी छिन् । बालबालिकाको क्षेत्रमा झण्डै २ दशकदेखि नै निरन्तरता दिँदै आएको उनले बताइन् । अहिले पनि यो कामलाई निरन्तरता दिँदै आएकी छिन् ।

आस्था कृषि उद्योग र न्यूटी केयर फूड प्रोडक्स् सञ्चालन गर्दै आएकी सरु अहिले पनि नेपाल उद्योग वाणिज्य महासंघको १ नम्बर प्रदेशको कार्यसमिति सदस्य, नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी समिति केन्द्रीय उपसभापतिको जिम्मेवारीमा समेत काम गर्दै आएकी छिन् । प्रस्तुती : सुमन सुस्केरा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्