मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा सोलुखुम्बुमा पर्यटक बढे

मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा सोलुखुम्बुमा पर्यटक बढे

सोलुखुम्बु, चैत १३ गते ।

हिमाली क्षेत्रमा चिसो कम हँुदै गएपछि सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा पर्यटकको आगमनले गति लिन थालेको छ । मौसममा सुधार भएसँगै ‘स्प्रिङ’ सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य मनोरम दृश्य अवलोकन गर्न आउने पर्यटकको आगमन ह्वात्तै बढेकोे हो ।

पदमार्ग तथा हवाईमार्ग हुँदै सगरमाथा क्षेत्रमा प्रवेश गर्नेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख प्रमुख प्रमोद भट्टराईले जानकारी दिनुभयो । गएको माघ महिनामा एक हजार २८६ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने फागुन महिनामा यो सङ्ख्या करिब दोब्बरले बढेर दुई हजार ८८१ जना पुगेको छ । चैतको पहिलो साता बित्न लाग्दा दैनिक करिब दुईदेखि तीन सयसम्म पर्यटक आउन थालेको उहाँले बताउनुभयो ।
पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज जोरसल्ले प्रवेशद्वारमा अनिवार्य दर्ता गर्नुपर्ने प्रावधान रहेको छ । सोही कार्यालयमा रहेको पर्यटक सूचना केन्द्रले प्रत्येक पर्यटकलाई खुम्बु क्षेत्रमा जाँदा उनीहरूले पालना गर्नुपर्ने नियम, उच्च हिमाली क्षेत्रमा जाँदा पर्यटकले ध्यान दिनुपर्ने कुरालगायतका विषयमा जानकारी प्रदान गर्दछ । टे«किङ सिजन शुरु भएसँगै जिल्लाका विभिन्न भागका पर्यटन व्यवसायी लुक्ला पुगेका छन् भने पर्यटक भरियासमेत धमाधम खुम्बुमा जम्मा हुने क्रम बढेको छ ।

दुई तीन दिनयता पर्यटकको आगमन बाक्लिएपछि होटलहरूमा पनि चाप बढ्न थालेको नाम्चेका होटल व्यवसायी जाम्बिला गेस्ट हाउसका सञ्चालक लामाकाजी शेर्पाले बताउनुभयो । अफ सिजनमा जाडो छल्न काठमाडौँलगायत तराईका विभिन्न क्षेत्रमा झरेका होटल व्यवसायी सिजन शुरु भएसँगै पर्यटन मार्गमा पर्ने लुक्ला, जोरसल्ले, फाक्दिङ, नाम्चे, खुम्जुङ, गोरक्सेप, गोक्यो, तेङबोचेलगायतका ठाउँमा रहेका होटलमा व्यस्त हुन थालेका छन् ।
सिजन शुरु भएसँगै हवाईमार्ग प्रयोग गरी आउने पर्यटकका कारण तेञ्जिङ हिलारी विमानस्थल व्यस्त हुन थालेको छ । नेपाल नागरिक उड्डयन कार्यालय लुक्लामा करिब एक सातायता तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको चाप बढेको छ । सो कार्यालयका प्रमुख इमनाथ अधिकारीका अनुसार मौसमअनुकूल हुँदा हाल दैनिक ३५ देखि ४० को सङ्ख्यामा उडान हसन थालेको छ । हाल ताराका चारवटा, समिट र सीता एयरका दुई÷दुईवटा जहाजले काठमाडौँ, फाप्लु र रामेछापबाट दैनिक उडान भर्ने गरेका छन् भने विभिन्न कम्पनीका हेलिकप्टरले पनि उडान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

यस वर्ष पर्यटक आगमनमा केही कमी आउने पर्यटन व्यवसायीले बताएका छन् । खुम्बुलगायत देशका अन्य क्षेत्रमा पनि पर्यटक घट्न सक्ने पर्यटन व्यवसायी तथा हिमालयन म्याजिक टे«क्सका प्रबन्ध निर्देशक नवीन कार्कीले बताउनुभयो । आफ्नो कम्पनीमार्फत यस वर्ष खुम्बुका लागि धेरै पर्यटक रहेको उहाँको भनाइ छ । फागुन महिनामा आएका पर्यटक र चैत लागेपछि बढेको अनुपात हेर्दा भने यस वर्ष पर्यटक आगमन उत्साहजनक हुने अन्य केही व्यवसायीको विश्वास रहेको छ । उनीहरूका अनुसार यो वर्ष पर्यटक आगमन घट्नुपर्ने कुनै खास कारण छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्