भद्रपुर, चैत २० गते । झापामा पहिलोपटक कनकाई नगरपालिकाले नगरका नौ वटै वडाको ऐलानी जग्गाको लगत सङ्कलन शुरु गरेको छ । वर्षौँदेखि जोतभोग गरिरहेका तर लालपुर्जाविहीन जग्गाधनीलाई सो वितरणका लागि ऐलानी जग्गाको लगत सङ्कलन गरिएको हो । नगरपालिका प्रमुख राजेन्द्र पोखरेलले नगरका ११ हजार घरधुरीमध्ये पाँच हजार बढी घरधुरी लालपुर्जाविहीन रहेको हुँदा पहिलो चरणमा उनीहरुको लगत सङ्कलन गर्ने काम शुरु गरेको बताउनुभयो ।
एक हप्ताभित्रमा लगत सङ्कलन शुरु गरिसक्ने योजना रहेको सुनाउँदै उहाँले भन्नुभयो, “स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक, ऐलानी जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ । सोहीअनुसार कानूनको मस्यौदा तयार गर्दैछौँ ।”
उहाँले सार्वजनिक महत्वका जग्गाहरुको नगरले संरक्षण गर्ने र ५०औँ वर्षदेखि भोगचलन गर्दै आएका व्यक्तिको पहिचान गरी उनीहरुलाई लालपुर्जा वितरण गर्न पहल गर्ने योजना रहेको बताउनुभयो । यतिबेला नगरपालिकाका हरेक वडामा लालपुर्जाका लागि लगत दिनेको भीड छ ।