इलाम,२४ चैत । इलाम बजारमा साना सहरी खानेपानी आयोजना सञ्चालन हुने भएको छ । खानेपानी आयोजना सञ्चालनका लागि ठेक्का लागेको छ ।
इलाम नगरपालिकाको स्वामित्वमा सञ्चालन हुने आयोजना ‘रमण कन्ट्रक्सन कम्पनी’ ले ५७ करोड ९५ लाख सात हजारमा ठेक्का लिएको छ । खानेपानी आयोजना सञ्चालनका लागि २५ प्रतिशत नगर विकास कोषको १४ करोड ४८ लाख ७७ हजार र उपभोक्तामार्फत उठाइएको २ करोड ८९ लाख ७५ हजारमार्फत आयोजना सञ्चालन गर्न लागिएको हो । खानेपानी आयोजना २ वर्षभित्र सम्पन्न हुने सम्झौता गरिएको छ । आयोजना सम्पन्न भए पश्चात ३ वर्ष निर्माण कम्पनीले नै मर्मत सम्हार गर्ने सम्झौता भएको छ ।
निर्माण पश्चात निर्माण भएका सबै संरचना इलाम नगरपालिकाको स्वामित्वमा रहने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले जानकारी दिए । यो आयोजना सञ्चालन भएपछि इलाम बजारमा खानेपानी समस्या समाधान हुने नगरवासीको अपेक्षा छ । दुई वर्ष अघिबाट यो आयोजना सञ्चालन गर्न खोजिए पनि विभिन्न समस्यका कारण अघि बढ्न सकेको थिएन । अब भने काम नै अघि बढेको छ ।
इलाम नगरपालिका कार्यपालिकाको बैठकले नगरपालिकाभित्र यसै शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सिटीईभिटीसँग सहकार्य गर्ने निर्णय भएको छ । इलाम नगरपालिकालाई शैक्षिक केन्द्र बनाउन इलाम नगरपालिका रहेको रत्नकुमार पोलिटेक्निक इन्टिच्युटसँग सम्झौता भएको छ छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा संग्रालय स्थापनाका लागि कार्य अगाडि बढाउने निर्णय भएको प्रमुख बस्नेतले जानकारी दिए । बारा पर्सामा १७ गते आइतबार आएको विनासकारी हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई सहयोगस्वरुप इलाम नगरपालिकाबाट नगद एक लाख सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर पाँचका वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।
साथै इलाम नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिको एक दिनको पारिश्रमिक दिने निर्णय भएको छ । इलाम नगरपालिकामार्फत पठाइने राहत प्रधानमन्त्री विपद ब्यवस्थापन कोषमार्फत पठाउने तयारी भएको छ ।