सामाजिक सञ्जालको प्रयोग गरी संकलित रकमबाट चमैतामा एम्बुलेन्स सेवा सञ्चालन

सामाजिक सञ्जालको प्रयोग गरी संकलित रकमबाट चमैतामा एम्बुलेन्स सेवा सञ्चालन

इलाम, २६ चैत । सामाजिक सञ्जालको प्रयोग गरी संकलित रकमबाट इलामको देउमाई नगरपालिकाको चमैतामा एम्बुलेन्स सेवा सञ्चालन भएको छ। ‘चमैता सरोकार समाज’ संस्थाको पहलमा चमैतामा जन्मेर जन्मथलो भन्दा टाढा भएका र जन्मथलोमै रहेकाहरूले गाउँको विकासका लागि सामाजिक सञ्जालमार्फत अभियान चलाएर एम्बुलेन्स सञ्चालन गरेका हुन्।

देउमाई नगरपालिकाका मेयर सूर्य पोखरेलले चमैतामा एम्बुलेन्स सञ्चालनको औपचारिक रुपमा उद्घाटन गरे। एम्बुलेन्स उद्घाटन गर्दै मेयर पोखरेलले गाउँमा एम्बुलेन्स सञ्चालन भएकोमा खुसी व्यक्त गर्दै चमैतालाई माया गरी यस अभियानलाई सफल बनाउने सवैलाई धन्यवाद व्यक्त गरे। एम्बुलेन्सका लागि रकम संकलन गर्ने ‘चमैता सरोकार समाज’ सँग नगरपालिकाले साझेदारी गर्न तयार रहेको उनले बताए।

२०७४ सालमा स्थापित चमैता सरोकार समाज’ ले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्यम तथा स्वरोजगारमुलक विभिन्न क्षेत्रमा काम गर्दै आफ्नो जन्मथलो चमैताको सेवा र विकासमा जुट्ने उद्देश्य लिएको अध्यक्ष मनबहादुर गुरुङले बताए।

गुरुङका अनुसार एम्बुलेन्स खरिद गरेर करिब चार लाख रुपैयाँ संस्थाले बचत पनि गरेको छ। उक्त रकममा अझ थप गरी शिक्षा, पर्यटनलगायतका क्षेत्रमा काम गर्ने उनले बताए।

फेसबुक, ट्‍विटर लगायत सामाजिक सञ्जालबाटै एम्बुलेन्स किन्न उनीहरूले रकम संकलन गरेका थिए। यसरी १४ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो। चमैतामा आउने बैशाखको अन्तिममा स्वास्थ्य शिविरको कार्यक्रम लैजाने संस्थाको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्