लोकेश राहुल र मयंक अग्रवाल चम्किएपछि किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा चौथो जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा पञ्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले हरायो । चन्दीगढस्थित पन्जाब क्रिकेट एसोसियसनको मैदानमा हैदरावादले दिएको एक सय ५१ रनको लक्ष्य पन्जाबले १९.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो ।
पन्जाबका लागि लोकेश राहुल र मयंक अग्रवालले अर्धशतकीय इनिङ खेले । राहुलले अविजित ७१ रन बनाए । मयंकाले ५५ रन बनाए । क्रिस गेलले १६ रन बनाएका थिए । बलिङमा हैदरावादका सन्दीप शर्माले दुई विकेट लिए । राशिद खान र सिद्धार्थ काउलले एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय ५० रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय इनिङ खेले । विजय शंकरले २६, मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए ।
बलिङमा पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले एक एक विकेट लिए । यस जितसँगै पन्जाबले ६ खेलबाट अठ अंक जोड्दै तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको हैदरावादले ६ खेलबाट ६ अंक बनाएको छ ।