तरहरामा रहेकाे दुग्ध प्रशोधन केन्द्रलाई २० करोड अनुदान

तरहरामा रहेकाे दुग्ध प्रशोधन केन्द्रलाई २० करोड अनुदान

सुनसरी, २ बैशाख। इटहरीस्थित तरहरामा कृषि सहकारीको लगानीमा निर्माणाधीन दुग्ध प्रशोधन केन्द्रका लागि प्रदेश नम्बर १ सरकारले २० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । कामधेनु दुग्ध विकास सहकारी संस्थाले केन्द्र निर्माण गर्न लागेको हो । प्रशोधन केन्द्र २५ हजार लिटर क्षमताको बन्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री शेरधन राईले अनुदान सम्बन्धी सम्झौता गरेका छन् । २९ करोड रुपैयाँ अनुमानित लागत गरिएको प्रशोधन केन्द्रका लागि थप ९ करोड रुपैयाँ कामधेनु सहकारीसँग आबद्ध कृषि सहकारीको लगानी रहनेछ । हाल कामधेनुमा ५८ ओटा कृषि सहकारी आबद्ध छन् भने ४ सय किसान शेयर सदस्य छन् ।

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक २५ हजार लिटर दूध प्रयोगमा ल्याउन सकिने बताइएको छ । २ बिघा २ कट्ठा क्षेत्रफलमा केन्द्रको स्तरोन्नति गर्दै भवन निर्माण परियोजना अघि बढाइएको हो । २०७४ कात्तिकदेखि केन्द्रको लागि भवन निर्माण शुरू गरेको परियोजनाले चैतदेखि प्लान्ट नै सञ्चालन गर्ने लक्ष्य लिए पनि केही महीना अझै लाग्ने संस्थाका अध्यक्ष टीकाप्रसाद ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्