बल्ल जोडियो सदरमुका म्याङ्लुङसँग छथर गाउँपालिका

बल्ल जोडियो  सदरमुका म्याङ्लुङसँग छथर गाउँपालिका

तेह्रथुम, ५ बैशाख। म्याङलुङ नगरपालिका र छथर गाउपालिकाको संगमस्थल लम्बुखोलामा पक्की पुल निर्माण भएपछि छथर सदरमुकामसँग जोडिएको छ । केही महिनाअघि मात्र निर्माण कार्य सम्पन्न भएको पक्की पुल कानुन न्याय तथा संघीय मामिलामन्त्री  भानुभक्त ढकालले बिहीबार उद्घाटन गरेसँगै छथर गाउँपालिका सदरमुकामसँग जोडिएको हो । साबिक म्याङलुङ र ओख्रे गाविस जोड्ने यस पुलले सो क्षेत्रका बासिन्दाको दिनचर्या सहज बनाउने मन्त्री ढकालले बताए ।

म्याङलुङ नगरपालिका भएर छथरको शुक्रबारे निस्कने १७ किमी सडक स्तरोन्नतिका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले संयुक्त पहल गर्नुपर्ने उनको भनाइ छ । पक्की पुल सञ्चालनमा आएपछि गाउँमा उत्पादित कृषि उपजको बजारीकरणमा सहज भएको छ ।

पुलको उद्घाटन गर्दै मन्त्री ढकालले विकास निर्माणका कामलाई गुणस्तरीय रूपमा छिट्टै सम्पन्न गर्नका लागि स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताए । उनले संघीय सरकारले विकास निर्माणका कामलाई प्रथामिकतामा राखी काम गरेको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिव ढुंगानाले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले जनताको आवश्यकतानुसार काम गर्न आफूहरू सधैं तत्पर रहेको दाबी गरे ।नवनिर्मित पक्की पुलबाट सदरमुकाम म्याङलुङसँग छथरको ओख्रे, सुदाप, हमुरजुङ, पञ्चकन्या, आङदिम र धनकुटाको छथर जोरपाटी गाउँपालिकाका स्थानीय लान्भावित हुनेछन् ।

साबिक जिल्ला विकास समितिको ५ करोड २९ लागतमा निर्मित मोटरेवल पुलको लम्बाइ २ सय मिटर रहेको छ । २४ जेठ २०७२ सालमा पुल निर्माण सम्झौता गरी सपना निर्माण सेवाले जिम्मा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्