प्रहरीको व्यवहारले विस्थापित हुनुपरेको होटल व्यवसायीको गुनासो

प्रहरीको व्यवहारले विस्थापित हुनुपरेको होटल व्यवसायीको गुनासो

धरान, ९ बैशाख । प्रहरीको जथाभावी चेकजाँच र व्यवसायीप्रतिको नकारात्मक सोचाइ परिवर्तन हुन नसक्दा इटहरीका व्यवसायी पलायन हुने अवस्था आएको होटल व्यवसायीहरूले गुनासो गरेका छन् । होटल व्यवसायी र प्रहरीबीच हालै भएको छलफलमा व्यवसायीहरूले प्रहरीको व्यवहार परिवर्तन हुनुपर्ने सुझाव दिएका छन् ।

पर्यटनको मूल आधार होटल व्यवसाय जहिले पनि प्रहरीको निशानामा पर्ने गरेको व्यवसायीको भनाइ छ । ‘पूर्वकै मुख्य बजार इटहरीमा पर्यटकले आफ्नो गन्तव्य निर्धारण गर्ने क्रममा बास बस्ने गर्छन्, तर प्रहरीले जथाभावी चेकजाँच गर्दा ग्राहकमा भय उत्पन्न भएको छ,’ होटल व्यवसायी संघ सुनसरीका अध्यक्ष जीवन पराजुलीले बताए ।
प्रहरीकै कारण इटहरीका नाम चलेका केही होटलहरू विस्थापित हुन थालेको पराजुलीको आरोप छ । आपराधिक कार्य गर्ने व्यक्तिलाई पक्राउ गर्न होटल व्यवसायीले सहयोग गर्ने तर अनावश्यक रूपमा जोसुकैलाई पनि दुःख दिन नहुने उनको भनाइ छ ।

बढ्दो अपराधलाई न्यूनीकरण गर्न सही सूचनाका आधारमा मात्र प्रहरीले छापा मार्ने गरेको प्रहरीको दाबी छ । इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख समीरचन्द्र खरेलले होटलहरूमा मात्र नभएर व्यक्तिको घर भाडा लिएर पनि यौनधन्दा चलाउने गरेको पाइएकोले अनुसन्धानका लागि छापा मार्ने गरिएको बताए । प्रहरीले गर्ने अनुसन्धानमा अवरोध सृजना नगर्न खरेलले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्