काठमाडौँ, वैशाख २० गते ।
सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो ।यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रको स्मरणमा नै यो दिवस शुरु भएको हो । उक्त सम्मेलन युनेस्कोको आयोजनामा भएको थियो र सम्मेलनको मूल उद्देश्य बहुलवादी र स्वतन्त्र प्रेसको लागि गर्नुपर्ने कामहरू निर्दिष्ट गर्नु थियो । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि जारी विन्डहक घोषणापत्र एउटा महत्वपूर्ण अन्तर्राष्ट्रिय दस्तावेज हो जसको सान्दर्भिकता आज पनि उत्तिकै छ ।
प्रेस स्वतन्त्रता दिवस मनाउनुको मुख्य कारण समाचारको खोजी र प्रस्तुतिका लागि आफ्नो जीवनसमेतको पर्वाह नगरी खट्ने सञ्चारकर्मी जसले अनेक प्रकारका दमनको सामना गर्नुपरेको छ, उनीहरूप्रति सम्मान व्यक्त गर्नु हो ।
पत्रकारहरू राज्य र गैरराज्य पक्ष दुवैतर्फबाट अनेक प्रकारका दमनका शिकार हुने क्रम संसारभर रोकिएको छैन । हरेक वर्ष सयौँ पत्रकार कार्यक्षेत्रमा मारिँदै आएका छन् । घाइते हुने र अनेक शारीरिक यातना पाउने त हजारौँ हुन्छन् । जेल र हिरासतमा बस्नुपर्ने नियति पनि उस्तै छ धम्की, डर र त्रासबाट सताइनेको सङ्ख्या त अनगिन्ती छ । मे ३ उनीहरूको सहास, जाँगर र योगदानको सम्मान व्यक्त गर्ने दिन हो । उनीहरूका दुःखकष्ट सम्झने दिन हो ।
मे ३ को अवसरमा राज्यलाई प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्ने दायित्व र कर्तव्य तिम्रो हो भनेर स्मरण गराउने र राज्यलाई थप कटिबद्ध हुन दबाब दिने दिन भएको बताउनुहुन्छ नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष विपुल पोखरेल ।
मे ३ का दिन प्रेस स्वतन्त्रता हननका घटनाहरूका तथ्याङ्क र विश्लेषण प्रस्तुत गरेर हरेक देशका आम मानिसलाई यो अवस्थाका बारेमा सचेत र जागरुक बनाउनुपर्ने अर्को मुख्य उद्देश्य रहेको उहाँको भनाइ छ ।
नेपालमा पनि यो दिवस सन् १९९५ देखि हरेक वर्ष मनाउँदै आउने गरिएको छ । आज पनि नेपाली प्रेसको अवस्था स्वतन्त्रताका दृष्टिमा जोखिमयुक्त नै देखिन्छ । नेपालमा विगत एक वर्ष ९सन् २०१८ मे देखि २०१९ अप्रिलसम्म० मा १०४ प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना घट्दा १५८ पत्रकार प्रत्यक्ष प्रभावित भएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा डेढ गुणाले बढी हो । अघिल्लो वर्ष यो सङ्ख्या ६६ रहेको थियो । यस वर्षमा १०४ उल्लङघनका घटनामध्ये आक्रमण÷हातपातका ३१, समाचार सङ्कलन रोक र तोडफोडमा १६, दुव्र्यवहार २८, ज्यान मार्ने धम्की १९ र तीन घटना समाचार लेखेकै भरमा पत्रकारविरुद्ध मुद्दा रहेका छन् ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समय नेपाली प्रेस तथा पत्रकारमाथि आक्रमणको शृङ्खला बढ्दै गएकाले नेपाली प्रेस थप चुनौतीपूर्ण बन्दै गएको बताउनुहुन्छ ।
उहाँका अनुसार प्रमुख राजनीतिक दलहरु प्रेस स्वतन्त्रताप्रति गम्भीर नबन्दा संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि व्यवहारमा त्यो देखिएको छैन । “धेरैजसो प्रेस स्वतन्त्रता उल्लङ्घनका घटनामा राजनीतिक दलकै संलग्नता देखिन्छ, त्यसको अन्त्यका लागि हामीले मे ३ कै सन्दर्भ पारेर प्रमुख दलका शीर्ष नेतृत्वलाई ज्ञापनपत्रसमेत बुझाएका छौँ”, उहाँले भन्नुभयो ।
इन्टरनेटको विस्तार बढेसँगै नेपालमा अनलाइन मिडियाको सङ्ख्या प्रेस काउन्सिलका अनुसार गत चैतसम्ममा एक हजार ६०० पुगेको छ । तर यो सङ्ख्या हेर्दा अनलाइन मिडियाको सङ्ख्या निकै बढी रहेको अनुमान गर्न सकिन्छ । अनलाइन मिडिया र सामाजिक सञ्जालको पहुँच भएसँगै जनताको अभिव्यक्ति स्वतन्त्रता प्रयोगमा उल्लेखनीय सहयोग भए पनि डिजिटल मिडियामाथि बढ्दो नियन्त्रणले भने चुनौतीपूर्ण वातावरण सिर्जना भएको छ ।
स्वतन्त्र प्रेसका लागि वातावरण तयार गर्न अभिव्यक्ति स्वतन्त्रताका सम्पूर्ण सरोकारवाला पक्षबीच सहकार्य बढाउनुपर्ने र नागरिक समाजको पहरेदारी पनि बढ्नुपर्ने, दण्डहीनताको अवस्था अन्त्यका लागि राज्यले शीघ्र पहल गर्नुपर्ने, संविधानले प्रस्तावानामा भनिएबमोजिम पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित कानूनबाट गर्न र व्यवहारमा पनि प्रेस स्वतन्त्रताको प्रत्याभूति दिनुपर्ने मुख्य दायित्व आजको यस दिवसले प्रदान गर्नुपर्ने नेपाल पत्रकार महासङ्घका पूर्वसभापति एवं फ्रिडम फोरमका प्रमुख कार्यकारी तारानाथ दहाल बताउनुहुन्छ । (रासस)