गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तिब्र : पुसबाट प्रतियोगिता गर्न सकिने गरी तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण तिब्र :  पुसबाट प्रतियोगिता गर्न सकिने गरी तयारी

चितवन, वैशाख २९ गते । 

रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताउनुभयो । कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा रु ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक सङ्कलन अभियानमा जुट्नुपर्नेमा जोड दिनुभयो ।

हालसम्म रु ६ करोड ५० लाख मात्र बोलिएको छ । सबै रकम उठिसकेको छैन । भदौ महीनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ । रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उहाँले बताउनुभयो ।

मैदान बनाउनका लागि काठमाडौँका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो । मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम शुरु गरिएको कट्टेलले बताउनुभयो । पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ ।

अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा÷एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताउनुभयो । गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उहाँले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि अघि बढाइएको छ ।

क्रिकेटबाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताउनुभयो । कट्टेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ । यसका लागि नेपालीसँगै विदेशी विज्ञहरुले पनि काम गरिरहेका छन् ।

कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान शुरु हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताउनुभयो । चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो ।

यससँगै सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उहाँले बताउनुभयो । बहुउपोगी रङ्गशला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ । अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ । त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो । रङ्गशालालाई खेलकूद विश्वविद्यालयका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्