पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको तेजपात उत्पादक किसान निराश

पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको तेजपात उत्पादक किसान निराश

लेटाङ (मोरङ), जेठ १ गते ।

मूल्य लगातार घटेपछि तेजपात उत्पादक किसान निराश भएका छन् । उत्पादन बढे पनि अघिल्लो वर्षको तुलनामा मूल्य घटेको किसानहरू बताउँछन् । तेजपात पूर्वी नेपालको व्यापार घाटा कम गर्न सहयोगी बन्दै आएको निर्यातजन्य कृषि उत्पादन हो ।

उत्तरी मोरङका साविक आठवटा पहाडी गाविस, धनकुटा, पाँचथर र इलामका दक्षिणी गाउँको सम्पूर्ण उत्पादन लेटाङमा सङ्कलन हुने गरेको छ । लेटाङसँग पहाडी गाउँको सडक सञ्जाल जोडिएपछि तेजपातका व्यापारी मोरङको लेटाङ बजारमा काँटा थापेर बसेका छन् । तेजपात नेपालका मसला उद्योग र भारततर्फ निकासी हुने गरेको छ । पाँच वर्षयता तेजपातको खरिद बिक्री गर्दै आउनुभएका लोकहादुर लिम्बूले भन्नुभयो, नेपालमै प्रशस्त मसला उद्योग खुलेकोले तेजपातको भारततर्फ निकासी घटेको छ । भारतीय व्यापारीको तुलनामा नेपाली व्यापारीले कम मूल्य दिने गरेकोले किसानले उचित मूल्य नपाएको लिम्बूले बताउनुभयो । उहाँले तेजपातको माग उच्च रहेको बताउनुभयो ।

अघिल्ला वर्ष प्रतिकेजी ३० रुपियाँमा किनेको तेजपात उहाँले गत वर्ष ४० रुपियाँमा खरिद गर्नुभएको थियो तर यो वर्ष पनि मूल्य खासै बढेन । उहाँले यो वर्ष ४२ रुपियाँसम्ममा खरिद गरेको बताउनुभयो । उहाँले यो वर्ष ११० क्विन्टलसम्म खरिद गरेर बिक्री गर्ने बताउनुभयो । लिम्बूजस्ता तेजपात सङ्कलक लेटाङमा मात्र चार जना हुनुहुन्छ ।

tejpat
लेटाङ–९ को वारङ्गीमा सङ्कलन गरी लेटाङ बजारमा बिक्रीका लागि आउनुभएका जीतमान लिम्बूले तेजपातको व्यावसायिक उत्पादन हुन थालेको बताउनुभयो । उत्तरी मोरङका हरेक किसानले खेतबारीमा तेजपात लगाएको उहाँको भनाइ छ । उहाँका अनुसार एक साल राम्रो बाली दिएको बोटले अर्को वर्ष आम्दानी खासै दिँदैन । पहिले दाउराका लागि रोपिने तेजपात किन्न गाउँगाउँमा व्यापारी पुग्न थालेपछि किसानले बारीमा थप बिरुवा रोप्न थालेका छन् ।
६ नं. बुधबारेका लालबहादुर मगरले यो वर्ष साढे ािँच क्विन्टल तेजपात बिक्री गर्नुभयो । उहाँले गत वर्ष प्रतिकेजी ४० रुपियाँमा बिक्री गरेको तेजपात यो वर्ष ४२ मा बिक्री भयो ।

लिम्बूले आफ्नो खेतमा धानबाली नलाग्ने, मकै लगाउँदा बाँदरले खाइदिने भएकोले सम्पूर्ण अन्नको जोहो नै कुचो र तेजपात बिक्री गरेर जुटाउने गरेको बताउनुभयो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा सात करोड सात लाख २० हजार ७३० रुपियाँको नौ लाख ८२ हजार २७० केजी तेजपात भारत निकासी भएको थियो । ०७३÷०७४ मा भने तेजपातको खपत नेपालमा बढेको देखिन्छ ।

केन्द्रका अनुसार ०७३÷०७४ मा पाँच करोड ५८ लाख ८१ हजार ९६५ रुपियाँको सात लाख ८० हजार ५५ केजी तेजपात पूर्वका नाकाबाट भारतलगायतका देशमा निर्यात भएको थियो । चालू आर्थिक वर्षको छ महिनामा ७१ लाख ९७ हजार ७८८ रुपियाँको एक लाख १३ हजार ७७३ केजी तेजपात निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्