हेटौंडा–चतरा राजमार्ग निर्माणमा ढिलाइ, राजमार्गको नक्सांकन र मुआब्जाको विषयमा अन्योल

हेटौंडा–चतरा राजमार्ग निर्माणमा ढिलाइ, राजमार्गको नक्सांकन र मुआब्जाको विषयमा अन्योल

सिन्धुली, ३ जेठ । हेटौंडा–चतरा राजमार्ग निर्माणमा ढिलाइ हुने भएको हो । राजमार्गको नक्सांकन र मुआब्जाको विषयमा अन्योल हुँदा निर्माणमा ढिलाइ हुने भएको हो ।

सिन्धुलीको भिमानदेखि उदयपुरसम्मको सडक खण्डमा पर्ने केही भौतिक संरचनाको मुआब्जा दिए पनि अझै धेरै स्थानमा विवाद छ । सडक खण्डमा पर्ने विद्युत्का पोलहरू स्थानान्तरण नहुँदा पनि निर्माण कार्य अघि नबढेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्शनका इन्जिनीयर मनीष पोखरेलले बताए ।

एक वर्ष सडक क्षेत्रमा पर्ने रूख कटानको विषयमा अलमल्लिएकाले त्यस बेलामा नै आयोजनाको सम्झौता ६ महीना थपिसकेको उनले जानकारी दिए । ‘अझै पनि मुआब्जा र विद्युत् पोलका कारण निर्माणले गति लिन सकेको छैन । सम्झौता अवधिभन्दा एक वर्ष पछाडि मात्र यस खण्डको काम सकिए पनि त्यो ठूलो उपलब्धि हुन्छ,’ पोखरेलले बताए ।

हालसम्म यस खण्डको आर्थिक प्रगति ४८ प्रतिशत र भौतिक प्रगति ५५ प्रतिशत मात्र भएको उनले बताए । नेपाल सरकार र निर्माण कम्पनी कालिकाबीच यस खण्डका लागि २०७३ कात्तिकमा सम्झौता भएको र यसको अवधि २०७६ कात्तिकसम्म रहेको पनि उनले बताए । ‘सम्झौता अवधिमा निर्माण सम्पन्न हुने सम्भावना छैन,’ उनले भने ।

हेटौडा–चतरा राजमार्गको सिन्धुली–चिसापानी (मकवानपुर) खण्डको निर्माण पनि सम्झौता अवधिमा सम्पन्न नहुने निर्माण कम्पनी र आयोजना कार्यालयले नै बताएको छ । सो खण्डमा हाल भौतिक प्रगति ४५ प्रतिशत र आर्थिक प्रगति ५५ प्रतिशत भएको निर्माण कम्पनीको यस खण्डका इन्जिनीयर छत्रबहादुर अर्यालले बताए । ‘यहाँ १ हजार २ सय परिवारले मुआब्जा पाउनुपर्नेमा हालसम्म एक जनाले पनि पाएका छैनन्,’ उनले भने । निजी आवास स्थानान्तरण गर्ने कि सडकको ट्र्याक नै परिवर्तन गर्ने भन्नेमा अन्योल रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्