विराटनगर महानगरपालिकाका मेयरलाई आयो यस्तो पत्र, विकासदेखि अहिलेसम्मको प्रगती माग

विराटनगर महानगरपालिकाका मेयरलाई आयो यस्तो पत्र, विकासदेखि अहिलेसम्मको प्रगती माग

आदरणीय मेयर साहब ,
सन्चै छु र सन्चै हुनुहुन्छ भन्ने कामना राख्दछु ! निक्कै लामो समय भैसकेछ , हाम्रो भेटघाट नभएको, झण्डै २ बर्ष पो भएछ ! अस्ति जस्तो लाग्छ , यो बिराटनगर शहरका, महानगरपालिकाका मेयरका धेरै उम्मेद्वारहरु मध्ये तपाईं पनि एक उम्मेद्वार हुनुहुन्थ्यो !

त्यतिबेला कलिलै उमेरको केटौले ब्यक्तिले मेयरको टिकट पाएछ, सिनियरलाई टिकट नदिएर किन कनिष्ठलाई टिकट दिएको होला भनेर निक्कै ठूलो होहल्ला हुँदा यहि अकिन्चनले समर्थन गर्दै भनेको थियो, ‘अब बुढापाकाका दिन भनेको सल्लाहकार भएर बस्ने हो, फिल्डमा उत्रीने हैन, फिल्डमा उत्रीएर कामगर्ने भनेकै युवाले हो !’ त्यसैले युवा जोश जाँगर भएको , बिद्यार्थी राजनीतिबाट आएको , भिजन भएको , कामगर्ने आँट भएको र सबैभन्दा ठूलो कुरा धार्मिक पृष्ठभुमि भएको युवा भनेर तपाईंको जितको लागि निक्कै प्रचार गरियो !
र , अन्ततः तपाइले निर्वाचनमा बिजय हासिल गर्नुभयो ! यो जितमा म जस्ता अकिन्चनको जिरो पोइन्ट जिरोजिरो भन्दा बढी योगदान नहोला, तपाईंको आफ्नै ब्यक्तित्वले नै ठूलो भुमिका खेल्योहोला ! तर बिर्सिनु नहुने एउटा कुरो चाहिँ के हो भने जसरी थोपाथोपा गरेर समुद्र बन्छ भनिन्छ त्यसरिनै एकएक भोट जोडिदै गएर तपाईंले धेरै भोट, सबैभन्दा धेरै भोट ल्याएर बिजयी बन्नुभएको कुरालाई पनि बिर्सनु हुन्न जस्तो लाग्छ !
निर्वाचन भएर तपाईंले जितेर आफ्नो कार्यभार सम्हाल्नु भएको पनि लगभग दुई बर्ष हुनलागेछ ! यो अवधिमा तपाईंको नेतृत्वमा धेरै कामहरु भएहोलान् ! मैले नै देख्न नसकेको हुँला ! हुनपनी हो , यो अकिन्चन कुवाको भ्यागुतो झैँ छ ! घर बाहिर के भैरहेको छ , थाहानै पाउँदैन ! सायद व्हील–चेयरमा चढेर गुड्किनुपर्ने कारणले होला तराइको यो गर्मी यो धुलो र धुवाँले भरिएको शहरमा गुड्किन नसकेको कारणले होला तपाईंले गरेका विकासका कामहरु देख्न नपाएको , सुन्न नपाएको !
तपाईंलाई प्रत्यक्ष भेटेर नै केही भन्न पाए पो हुन्थ्यो कि ? तपाईंको दैनिकी ज्यादैनै ब्यस्तहोला भनेर यहि चिट्ठी मार्फत केहिकुरा राख्दैछु , फुर्सद भएमा यो पत्रमा उल्लेखित केही कुराहरु पढिदिनुहोला भन्दै अनुरोध गर्दछु !
अहिले बिराटनगर शहर भित्र बनिँदै गरेका सडकहरु मापदण्ड भित्रनै परेका छन कि मापदण्ड बाहिरका छन ? सडकको दुबै छेउमा बनेका नालाहरुबाट पानी बग्नयोग्य छन कि अयोग्य छन ? नाला माथि सबतिर स्ल्याब हालेर छोपिएका छन कि दिनदहाडै गाईबस्तु , मानिस र सबारी साधन खसेर जनधनको क्षति भएका छन कि छैनन ! सडक, पेटि बनाईदा अपाङ्गतामैत्री बनाईएका छन कि छैनन ? कुनैपनी सार्वजनिक स्थलहरु अपाङ्गमैत्री बनाईएका छन कि छैनन ? अपाङ्गमैत्री नभएका सार्वजनिक स्थलहरु जस्तो कि बगैँचा , पार्क , रिसोर्ट , होटेल , रेस्टुरेन्ट , बसपार्क , बसस्टप , मन्दिर , मस्जिद , गुम्बाहरुमा तुरुन्त बनाईयोस भनेर सुचना दिइएको छ कि छैन ? सिनेमाहल , सपिङ्गमल , सामान्य पसल देखि ठुलाठुला पसलहरुमा अपाङ्गमैत्री , बालबालिका मैत्री र बृद्ध बृद्धा मैत्री सौचालय , पहुँच बनाईएका छन कि छैनन भनेर बुझ्ने प्रयास गरिएको छ कि छैन ? नभएको अवस्थामा के गर्ने सोच बनाउनुभएको छ ?
बिराटनगर महानगरपालिकाले हेर्नुपर्ने सरसफाइ सम्बन्धी कुराहरु जस्तो कि बाटोघाटोमा , होटेल रेस्टुरेन्टमा, लजहरुमा , भोजनालयमा, तरकारी – फलफुल बजारमा आफ्ना अधिनमा रहेका नगर–प्रहरी र नगर–कर्मचारी खटाएर अनुगमन गर्ने काम भएको छ कि छैन ? यस बारेमा के सोच ल्याउनुभएको छ ?
बिराटनगर शहरको वातावरणलाई स्वच्छ अनि हराभरा गराउनको लागि के कस्ता कार्यक्रम ल्याउनुभएको छ , या भनौ के सोच राख्नुभएको छ ? अहिलेको आधुनिक युगमा सवारीसाधनद्वारा निस्किने ध्वनी– प्रदुषण , धुवाँ धुलोको कारणले हुने वायु प्रदुषण , ल्याण्ड–प्रदुषण र पानी– प्रदुषण जस्ता विकृतिलाई न्यूनीकरण गर्न के कस्ता कार्यक्रम संचालन गर्नुभएको छ या सोच बनाउनु भएको छ ? के यस्ता कुराहरुमा जागरण ल्याउन साइकल– रेस , इलेक्ट्रीक भेइकल – रेस जस्ता प्रतियोगिता गराउनु भएको छ कि सोच बनाउनु भएको छ ? यस्ता कुराहरुको लागि के कस्ता अभियान चलाउनुभएको छ , कि सोच बनाउनु भएको छ ? यी सबै जिज्ञासाहरु मन भरी छन् ।
माथी उल्लेखित कुराहरु पुरागर्नको लागि एक्लो ब्यक्ति तपाईंलाई मात्रै सहज हुँदैन , यो कुरा म बुझ्छु तर यी यावत समस्याहरुलाई हलगर्नको लागि एउटा दह्रो र राम्रो दुरदर्र्शी सोच भएका , सम्बन्धित क्षेत्रमा ज्ञान भएका अनुभवी ब्यक्तिहरुको टिम बनाएर त पक्कैपनी चल्नुभएको होला, कि कसो ? विराटनगरमा गर्नु पर्ने र गर्न बाँकी धेरै कामहरु छन् । भएका कामको गुणस्तरको बारेमा तपाईलाई जानकारी भएकै होला । यति मात्र हैन मेयर साब तपाईको ब्यस्तताले गर्दा आम नागरिक नगरवासीको कुरा सुन्ने फुर्सद त छ नी ? पक्कैपनि होला भन्ने विस्वास लिएको छु ।
हवस् त मेयर साहब , आजलाई यत्ती ! अरु कुनै कुराहरु छुटेका रहेछन भने म फेरिपनी चिट्ठी लेखेर अवगत गराउँला , अनुरोध गरौंला !
धन्यवाद !
उहि तपाईंको जन्तो ‘पुरु’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्