विराटनगर, १० जेठ । वरिष्ठ बालरोग विशेषज्ञ डा. विमल अग्रवालको असामयिक निधनले यस क्षेत्रका वयस्क मात्र होइन बालबालिका पनि शोकमग्न छन् । ‘अग्रवालले उपचार गरेका हरेक बालबालिक निको भएरै छाड्थे’ अभिभावकहरु यस्तै टिप्पणी गरिरहेका छन् ।
६ वर्षदेखि विराटनगरको कोसी अञ्चल अस्पतालमा कार्यरत ४१ वर्षीय अग्रवाललाई स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि आफै गाडी चलाएर उपचारका लागि स्थानीय नोबेल अस्पताल पुगेका थिए । उपचारकै क्रममा डा. अग्रवालको मस्तिष्कघातका कारण निधन भयो । उनका शुभचिन्तकहरु नोबेल अस्पतालको लापर्वाहीका कारण निधन भएकोमा एकातिर स्थानीयवासीमा आक्रोश छ भने अर्कोतिर उनको परिवारप्रति समवेदना पनि छ ।
पछिल्लो एक दशकमा विभिन्न स्वास्थ्य संस्था मार्फत डा. अग्रवालले हजारौ बालबालिकाको उपचार गरेका थिए भने सयौँ बच्चालाई नयाँ जीवनदान दिएका थिए ।
वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाल मस्तिष्कघातपछि नौ दिनसम्म अस्पतालको शैय्यामा थिए । डा. बिमलको दैनिक सिघ्र स्वास्थ्यलाभको कामना गर्न अस्पताल पुगेका उनका शुभचिन्तहरु अहिलेपनि आफ्ना बच्चाका डा. आफूहरु माझ छैनन् भन्नेमा विश्वास गर्न सकिरहेका छैनन् ।
डा. अग्रवालका बुबा सावरमल अग्रवालले भावुक हुदै छोरो बिमलले ठूलो परिवारलाई पूर्ण रुपमा सम्हालेको बताए । लामो जीवनको सुरुवातमै श्रीमान गुमाएकी चिकित्सक समेत रहेकी अग्रवालकी श्रीमती कोपिला श्रीमानको मृत्युपछि अहिले बोल्नसक्ने स्थितीमा छैनन् ।
डा अग्रवालकी एकमात्र छोरी विक्षिप्त छिन् । दैवले कलिलै उमेरमा आफ्नो बुवालाई टिपेर लगेपछि उनको मुहारबाट उज्यालो हराएको छ । करिब एक दर्जन सामाजिक संघसस्थामा आबद्ध रहेका स्व.अग्रवाल राउण्ट टेबल ११ का सस्थापक अध्यक्ष समेत थिए । राउण्ड टेबलले उनकै नेतृत्वमा केही वर्षदेखि कोसी अञ्चल अस्पतालमा रक्तअल्पता सम्बन्धी थालेसिमिया रोगका चार दर्जन गरीब बालबालिकालाई उपचार गराई रहेको थियो ।
बैशाख २४ गते नोबेल अस्पताल भर्ना भएका डा.अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको थियो । चिकित्सक संघ मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले पेशागत संगठनमा समेत डा. अग्रवालले महत्वपूर्ण योगदान पु¥याएको बताए । उनले संघको कोषाध्यक्षमा रहेर चिकित्सकको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । डा. अग्रवाल चिकित्सकसँगै विराटनगरको समाजको संस्कारयुक्त व्यक्तिसमेत भएको समाजसेवी वेनिगोपाल मुन्दडाको भनाइ छ । (नेपाल समाचारपत्र दैनिकबाट)