खैनी चुरोट खानुहुन्छ ? सुर्तिजन्य पदार्थबाट नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु

खैनी चुरोट खानुहुन्छ ? सुर्तिजन्य पदार्थबाट नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु

काठमाडौ,जेठ ११ गते । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्यान्सर रोग लगायत नसर्ने रोग रोकथामको लागि सुर्तिजन्य पदार्थ रोक लगाउनुपर्ने बताउनुभएको छ ।

सुर्तिजन्य पदार्थबाटै नेपालमा वर्षेनी २५ हजार व्यक्तिको मृत्यु भइरहेको भन्दै उहाँले नसर्ने रोग रोकथाममा जोड दिनुपर्ने बताउनुभयो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘ सूर्तिजन्य पदार्थ नियन्त्रण र यसको सेवनले क्यान्सर तथा मुटुरोग उपचारमा लागत खर्च’ सम्बन्धि अनुसन्धानात्मक प्रस्तुतीकरण कार्यक्रममा सभापति घर्तीले सुर्तीजन्य पदार्थ सम्बन्धि कानुन कार्यान्वयनमा जटिलता रहेको भन्दै सबै पक्षको सहकार्य गरेर कानुनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
सुर्ती सेवनलाई रोक्न ७५३ वटै स्थानीय निकाय लाग्नुपर्ने भन्दै उहाँले सुर्ती नियन्त्रण गर्न स्वास्थ्य, शिक्षा समितिले विशेष भूमीका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले नेपालको सूर्तिजन्य पदार्थ सम्बन्धि ऐन अन्य देशको तुलनामा उत्कृष्ट रहेको बताउनुभयो । नेपालमा सूर्तिजन्य पदार्थ नियन्त्रणका लागि सम्बन्धित निकाय लाग्नुपर्ने भन्दै उहाँले कानुन कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
संसदका कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यान्वयनमा कडाइका साथ संसदमा आवाज उठाइने बताउनुभयो । उहाँले आर्थिक वर्ष नजिकिँदै गर्दा सूर्तिजन्य पदार्थको कर बढाउन सरकारलाई सुझाव दिनुभयो ।
प्रत्येक वर्ष सूर्तिजन्य पदार्थ सेवनबाट लागेका रोग उपचारका लागि नेपाल सरकारले ४३ अरव खर्च गर्दै आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले सूर्तिजन्य पदार्थबाट मुटुरोग बढीरहेको बताउनुभयो । दि युनियनका एसिया क्षेत्रका उपकार्यकारी निर्देशक डा. तारासिंह बलमे सुर्ती नियन्त्रणमा नेपालको कानुन विश्वकै उत्कृष्ठ रहेको बताउनुभयो । सो कार्यक्रममा वरिष्ठ छातिरोग विशेषज्ञ डा. रमेश चोखानीले सूर्तिजन्य पदार्थबाट छाती तथा फोक्सो सम्बन्धि रोग लाग्ने सम्भावना बढी भएको बताउनुभयो । उहाँले गर्भवति महिला, बालबालिका, वृद्धा, युवा कुनै पनि वर्गका लागि सुर्ती सेवनले असर गर्ने भएको हुँदा सबै नागरिकलाई प्रयोग नगर्नका लागि सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका पदाधिकारी, सांसद, पत्रकार, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्