इटहरी,१३ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले घुससहित दुईजनालाई पक्राउ गरेको छ । व्यवसायिक सीप विकास केन्द्र झापामा कार्यरत शाखा अधिकृत सुमिन्द्र मण्डल र नायव सुब्बा राजकुमार धिमाललाई घुस सहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले सेवाग्राहीसँग प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि भन्दै ३५ हजार रुपैँया घुस मागेका थिए । ३५ हजार नगद सहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख महेश आचार्यले जानकारी दिए ।
उनले भने, ‘तालिम कार्यक्रम सञ्चालन गरे बापत भुक्तानी प्राप्त गर्नुपर्ने रकम दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना पाएको र उजुरी पनि आएकाले हामीले आज पक्राउ गरेका हौँ ।’ उनीहरुबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान पछि मुद्धा दायर गरिने प्रमुख आचार्यले जानकारी दिए ।
सोमबार दिउँसो घुस लिईरहेको अवस्थामा अख्तियार इटहरीका प्रहरी निरीक्षक राजन कार्कीको नेतृत्वमा उनीहरुलाई पक्राउ गरिएको हो ।