ओखलढुंगा, १६ जेठ । सुनकोसी गाउँपालिका- ९ ककनीका पञ्चबहादुर तामाङ सरकारी कागजात किर्ते गरेर जग्गा पास गर्ने क्रममा पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका-९ वडा कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद सर्जमिन मुचुल्कालगायतका कागजात किर्ते गरेर मालपोत कार्यालयमा पेश गर्ने क्रममा तामाङ पक्राउ परेका हुन्।
प्रहरीले उनलाई वडा कार्यालयको उजुरीका आधारमा पक्राउ गरेको हो।आफ्नै बाजेका नाममा रहेको जग्गा आफ्नो नाममा नामसारी गर्न किर्ते गरेर कागजात पेश गरेको पाइएकाले तामाङलाई अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको वडाअध्यक्ष झनककुमार कार्कीले बताए। वडा कार्यालयका काजगजात किर्ते गर्नेमाथि अनुसन्धान गर्न प्रहरीमा लिखित उजुरी दिएको समेत उनले बताए।
प्रहरीले तामाङलाई बुधबार पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
तामाङले प्रहरीसमक्ष आफूले किर्ते गरेको बयान दिएका छन्। आफ्नै बाजेको जग्गा नामसारी गर्न किर्ते गर्ने कुरा विश्वास गर्न नसकिने भएकाले यसमा अन्य व्यक्ति संलग्न भएको आशंका गरिएको छ।
सर्जमिन मुचुलका, सिफारिसलगायतमा कार्यवाहक वडाअध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कट्वालको नाम उल्लेख गरिएको छ। तामाङ र कट्वाल दुवै उक्त वडाका वडा सदस्य हुन्। उनीहरुले आफ्नो नाममा किर्ते भएको भन्दै वडा कार्यालयमा अध्यक्ष कार्कीलाई निवदेन दिएका छन्।