भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

भारतीय रियालिटी शोमा तहल्का मच्चाउँदै दुई नेपाली बालक

काठमाडौं, जेठ २१ । नेपाली प्रतिभा मुलुकभित्र मात्र होइन, अन्य देशमा पुगेर पनि चर्चित बन्दै आएका छन् । कतिपय प्रतिभा त अन्य मुलुकमा पुगेर सर्वोत्कृष्टसमेत हुँदै आएका छन् ।

पछिल्लो समय भारतीय टेलिभिजन च्यानल ‘जी टिभी’ले प्रशारण गरिरहेको रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा भाग लिन पुगेका दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसी पनि सर्वोत्कृष्ट हुने बाटोमा अग्रसर हुँदै छन् ।

भारतीय टेलिभिजन च्यानल जी टिभीले गत फेब्रुअरी ९ बाट सुरु गरेको चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा सहभागी दुई नेपाली बालक प्रितम आचार्य र आयुष केसीले तहल्का मच्चाउँदै आएका छन् । अडिसन राउन्डमा सहभागी २० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अघि बढेका उनीहरु अहिले फाइनल राउण्डमा प्रवेश गरेका छन् ।

सुरुआती चरणमा उत्कृष्ट ३० बाट पनि उत्कृष्ट हुँदै उनीहरु अहिले ‘टप सिक्स’ अर्थात फाइनल राउण्डमा प्रवेश गरेका हुन् । हिन्दी चलचित्रका गीतहरु प्रस्तुत गर्ने क्रममा निर्णायक मण्डलको शत प्रतिशत मन जित्न सफल हुँदै आएका प्रितम र आयुषको प्रस्तुति निकै नै दमदार रहँदै आएको छ ।

कहिले नेपाली राष्ट्रिय पोशाकमा त कहिले भारतीय पहिरनमा ठाँटिएर मञ्चमा पुग्ने उनीहरुको प्रस्तुतिले भारतीय निर्णायक मण्डलको मनमात्र जितेका छैनन्, सहभागी अन्य प्रतिभालाई समेत छायामा पारिदिने गरेका छन् ।

कुनै पनि गीत प्रस्तुत गर्दा देखिने आयुष केसीको शालिनता र प्रितम आचार्यको गीत अनुसारको हाउभाउले रियालिटी शोको छुट्टै पहिचान बनेको निर्णायक मण्डलहरुले बताउने गरेका छन् ।

त्यतिमात्र होइन, यिनीहरुले गाएको गीत सुनेर हिन्दी चलचित्रका प्रख्यात कलाकार ज्याकी श्राफ भावविह्वल बनेका थिए ।

१३ वर्षीय आयुष भक्तपुर निवासी हुन् भने सुनसरीको इटहरीका प्रितम आचार्य ११ वर्षका छन् । १६ वर्ष मुनिका बाल कलाकार सहभागी हुन पाउने प्रतियोगिताको अडिसन राउन्डमा अरु पनि नेपाली बालप्रतिभा सहभागी भएका थिए । तर, आयुष र प्रितम यसमा छानिएर टप फाइनल राउण्डमा पर्न सफल भएका हुन् ।

नेपालमा रियालिटी शो सुरशालाको जुनियर आइडल बनेका आयुष र उपविजेता बनेका प्रितमको लगाव संगीतमा रहँदै आएको छ ।

भारतको चर्चित रियालिटी शो सारेगमप लिटिल च्याम्पका विश्वभर करोडौं दर्शक छन् । यसअघि पनि भारतीय रियालिटी शोमा करोडौं दर्शकको मन जितेर सर्वोत्कृष्ट बन्न सफल भएका थिए । यसपटक पनि यी दुई नेपाली प्रतिभामध्ये एकले लिटिल च्याम्पको उपाधि उचाल्ने अपेक्षा आम नेपालीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्