विराटनगरको वीरेन्द्र सभागृहलागि आएको ४ करोड फ्रिज हुँदै, महानगरले खर्चमा चासो दिएन

विराटनगरको वीरेन्द्र सभागृहलागि आएको ४ करोड   फ्रिज हुँदै, महानगरले खर्चमा चासो दिएन

विराटनगर, २ असार । विराटनगरको वीरेन्द्र सभागृह मर्मतका लागि आएको बजेट फ्रिज हुने भएको छ । सभागृह पुनर्निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको पहलमा आएको ४ करोड बजेट खर्च गर्न विराटनगर महानगरपालिकाले चासो नदिएपछि फ्रिज हुने अवस्थामा पुगेको हो ।

सभागृह सुधारका लागि आएको बजेट अपुग भएको भन्दै महानगरले खर्च गर्न आलटाल गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले महानगरपालिकालाई पत्र पठाउँदै मर्मतसम्भारमा बजेट खर्च गर्न निर्देशन दिएको थियो । तर महानगरपालिकाले वीरेन्द्रसभा गृहको पुनर्निर्माणका लागि करीब २३ करोड लाग्ने डीपीआर तयार भएको, बजेट थोरै भएको र अन्तिम समयमा आएको भन्दै खर्च गर्न नसकिएको बताएको छ । ‘ढिलो गरी थोरै बजेट आएकाले खर्च गर्ने अवस्था रहेन,’ महानगरका प्रमुख भीम पराजुलीले भने । सभागृहको पुनर्निर्माणका लागि नगर विकास कोषमा लगानीका लागि प्रस्ताव पेश गर्ने तयारी भइरहेको जानकारी उनले दिए ।

मन्त्री पण्डितले पठाएको बजेट नयाँ डीपीआरका आधारमा काम गर्न अपुग हुने महानगर प्रमुख पराजुलीले बताए । ‘सरकारले लगानीको स्रोत सुनिश्चित नभएसम्म टेन्डर प्रक्रियामा नजान निर्देशन दिएकाले पनि काम अघि बढाउन सकिएन,’ उनले भने । वीरेन्द्र सभागृह काठमाडौंको राष्ट्रिय सभागृहको शैलीमा तयार गर्ने डीपीआर तयार भएको भन्दै उनले मन्त्री पण्डितलाई थप बजेटका लागि पहल गरिदिन आग्रह गरिएको बताए ।आर्थिक अभियान दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्