ढाट-टंकीका विच सडकका पोलमा ठोक्कीएर दुर्घटना , ज्यान गए दोषी को ?

ढाट-टंकीका विच सडकका पोलमा ठोक्कीएर दुर्घटना , ज्यान गए दोषी को ?

विराटनगर, ३ असार । विराटनगर–इटहरी सडक खण्ड अन्तर्गत बुढीगङ्गा गाउँपालिका–१ आरती स्ट्रिप अगाडि ६ लेन सडकको बिचमा बिजुलीको खम्बा छ । यही बिजुलीको खम्बामा निमुवाबाट विराटनगरतर्फ आइरहेको को १ च ८९४१ नम्बरको पिकअप भ्यान जेठ २३ गते ठोकियो । राति ८ बजेर ४० मिनेटको समयमा सवारी अनयन्त्रित भई बीच सडकमा रहेको बिजुलीको पोलमा ठोकिएर दुर्घटनामा परी मोरङका रतुवामाई नगरपालिकाका ३९ वर्षीय सवारी चालक राजेश टुडुसहित पाँच जना घाइते भए ।

पिकअप भ्यान दुर्घटनामा परेको दुई दिनपछि जेठ २५ गते सोही स्थानको बिजुलीको पोलमा स ८ प २११७ नम्बरको मोटरसाइकल ठोक्कियो । सडकको मध्यभागमा बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा दुई जना घाइेते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सात जना घाइते भएकोमध्ये दुई जना गम्भीर घाइते भई स्थानीय अस्पतालमा उपचार भयो । निर्माण कम्पनीको सरकारी निकायबीच समन्वय र हानाथापको कारणले गर्दा कोशी राजमार्ग अन्तर्गत निर्माण भइरहेको ६ लेन सडकको मध्यभागमा रहेको बिजुलीको पोल नहटाउँदा दुर्घटनाको उच्च जोखिम छ । सडकको मध्यभागमा रहेको बिजुलीको पोल हटाउन सम्बन्धित निकायलाई बारम्बार आग्रह गर्दा पनि हटाउनेतर्फ चासो नदेखाएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर शिवकुमार पोखरेलले जानकारी दिए ।
‘पिच भइसकेको बिच सडकको बिजुलीको पोल उखेलिएर अर्का ठाउँमा नर्सदा दुर्घटनाको उच्च जोखिम छ,’ उनले भने, ‘हामीले यस विषयमा सम्बन्धित निकायलाई भन्दै आएको छौं । यतिका दिन भइसक्दा पनि सम्बन्धित निकायले चासो देखाएको छैन । दुर्घटनाको गम्भीर रूप देखा परिसकेको छ । यस विषयमा मोरङका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएका छौं ।’

दुर्घटनाबाट जोगिन खम्बामा खतरा लेखिएको फ्लेक्स बोर्ड झुण्ड्याइएको भए पनि उच्छृङ्खल गतिविधि गर्नेहरूले च्यातेर फाल्ने गरेको उनले बताए । सम्बन्धित निकायले चाँडै बीच सडकमा रहेको बिजुलीको पोल नहटाउने हो भने यस क्षेत्रमा दुर्घटना बढेर जाने उनले बताए ।

क्षेत्रीय विद्युत् प्राधिकरण विराटनगरका प्रमुख सचितानन्द यादवले निमार्ण कार्य भइरहेको सडकको बीचमा रहेको बिजुलीको पोलहरू सार्ने सडक डिभिजन कार्यालयले जिम्मेवारी लिएको बताए । बीच सडकमा भएको पोल पनि उसैले हटाउने भन्दै विद्युत् प्राधिकरणका कार्यालय प्रमुख यादव भने पन्छिए ।
चौडा सडकमा उभिएका खम्बाले सडक कुरूप मात्र देखिएको छैन दुर्घटनाको उच्च जोखिम छ । सुरक्षाका दृष्टिले पनि बिजुलीका पोल संवेदनशील छन् । त्यसप्रति सम्बन्धित निकाय जिम्मेवार देखिएको छैनन् ।
बिजुलीको पोल उखेल्न विद्युत् प्राधिकरणले सडक डिभिजन देखाउँदै हानाथापका कारणले ठेकेदार कम्पनीले खम्बा नउखेली सडक कालोपत्रे गरेको हो । यसले विकास निर्माणमा आवश्यक पर्ने समन्वय कति कमजोर छ भन्ने पनि उजागार गरेको छ । त्यति मात्र होइन सडक निर्माण गर्दा कार्यालयको तर्फबाट गर्नुपर्ने सहयोग र समन्वय नहुनुमा दुई पक्षबीचको समझदारीमा समस्या भएको अनुमान गर्न सकिन्छ ।ब्लाष्ट खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्