विराटनगर महानगरको राजस्व : ११ महीनामा लक्ष्यको आधा असुली

विराटनगर महानगरको राजस्व : ११ महीनामा लक्ष्यको आधा असुली

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षको ११ महीनामा लक्ष्यको आधा मात्र राजस्व असुली गरेको छ । चालू आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा हालसम्म ३० करोड ६३ लाख राजस्व असुली गरेको हो ।

गत साउनदेखि वडास्तरबाट कर तथा राजस्व संकलन गर्ने निर्णय भएअनुसार कर असुली हुँदै आएको छ । तर कर तिर्न आएका सेवाग्राहीबाट घूस लिने कर्मचारीलाई जनप्रतिनिधिले नै रंगेहात पक्राउ गरेपछि २६औं कार्यपालिका बैठकले कुनै पनि कर महानगरबाट नलिने निर्णय गरेको थियो । स्थानीय तहमा सातओटा शीर्षकमा राजस्व असुली हुने गरेको छ । घर–जग्गा कर, व्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरीवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध शीर्षकको कर तथा दस्तुर वडामा बुझाउनुपर्ने व्यवस्था आर्थिक ऐनमा गरिएको छ ।

महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख राजेन्द्र प्रधानले करदाता नआएकाले कर असुली न्यून भएको बताए । चालू आर्थिक वर्षमा विनायोजना करको लक्ष्य बढाएकाले प्रभावित भएको हुन सक्ने उनको भनाइ छ । महानगरपालिकाले सिलिङ तोकेर वडा अध्यक्षहरूलाई कर एवं दस्तुर लिन जिम्मेवारी दिएको बताइएको छ । तर पनि कर असुली न्यून भएपछि प्रमुख प्रकाशकीय अधिकृतको संरक्षणमा वित्तीय व्यवस्थापन महाशाखा, राजस्व शाखा र वडा अध्यक्षसहितको अनुगमन समिति बनाइएको थियो ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा घरजग्गा कर, व्यवसाय कर, विज्ञापन कर, सवारी पार्किङ कर, दण्ड जरीवाना, धरौटी जफत र नक्सा पास दस्तुरसहित विविध आय शीर्षकबाट लक्ष्यभन्दा १ तिहाइ कम राजस्व संकलन गरेको गरेको छ । लीलामी विक्री, भाडा तथा बहालबाट आय, धरौटी जफत, पेश्की फिर्ता, स्थानीय कर, दस्तुर, विक्री शीर्षकमा न्यून कर संकलन भएको तथ्यांकले देखाएको छ ।

महानगरले व्यवसाय कर ७ करोड असुली गर्ने लक्ष्य लिएकोमा हालसम्म २ करोड २४ लाखमात्र असुली गरेको छ । त्यस्तै घरबहाल करको लक्ष्य ६ करोड रहेकोमा २ करोड १४ लाख असुली भएको छ । नक्सापास दस्तुरबाट ६ करोड उठाउने लक्ष्य थियो, जसबाट ४ करोड १५ लाख ८४ हजार संकलन भएको छ । महानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख प्रधानले प्रधानमन्त्री रोजगार कार्यक्रममा निवेदन दिएका बेरोजगार युवालाई महानगरपालिका प्रत्येक वडामा तीनजनाका दरले राजस्व अभिवृद्धि सर्भेक्षण टोली सदस्यका रूपमा परिचालन गरिएको जानकारी दिए ।अभियान दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्