विश्वकप क्रिकेट : सेमिफाइनलमा पुग्न सात टिमबीच घमासान , यस्तो छ अवस्था !

विश्वकप क्रिकेट : सेमिफाइनलमा पुग्न सात टिमबीच घमासान , यस्तो छ अवस्था !

लन्डन, असार ११ । इंग्ल्याण्डमा जारी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न सात टिमबीच घमासान चलिरहेको छ ।

अहिलेसम्म सेमिफाइनलमा स्थान बनाउन सफल एकमात्र टिम अस्ट्रेलिया रहेको छ । सेमिफाइनलका बाँकी तीन स्थानका लागि सात टिम दाबेदार छन् । तीमध्ये केहीले आफ्नो खेल जितेका आधारमै सेमिफाइनलमा स्थान बनाउन सक्ने अवस्था छ भने केहीले आफूले जित्नुका साथै अन्य टिमको नतिजामा पनि भर पर्नु पर्ने अवस्था छ ।

अस्ट्रेलिया

सात म्याच खेलेको अस्ट्रेलियाले १२ अंक हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । उसले दुई  वटा म्याच खेल्न बाँकी नै छ । अस्ट्रेलियाका बाँकी दुई म्याचले सेमिफाइनलमा पुग्न प्रतिश्पर्धामा रहेका अन्य सात टिमको दाबेदारीलाई प्रभावित पार्न सक्छ ।

दाबेदार १ : न्यूजिल्याण्ड

जारी विश्वकप प्रतियोगितामा न्यूजिल्याण्ड अपराजित रहँदै आएको छ । उसले अहिलेसम्म खेलेका ६ मध्ये पाँच म्याचमा जित हासिल गरेको छ भने वर्षा बाधक बनेको एक म्याचमा अंक बाँड्नु परेको थियो । अंक तालिकामा न्यूजिल्याण्ड ११ अंकका साथ दोस्रो स्थानमा छ । उसले बाँकी तीन म्याचमध्ये एउटामा जित हासिल गरेमा मात्र पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ । न्यूजिल्याण्डले आज पाकिस्तानसँग खेल्नेछ । त्यसपछि उसले अस्ट्रेलिया र इंग्ल्याण्डसँग खेल्नेछ । न्यूजिल्याण्डले बाँकी तीनवटै म्याच हारेको अवस्थामा भने बंगलादेश, पाकिस्तान र श्रीलंकाको बाँकी खेलका नतिजामा भर पर्नुपर्ने हुन्छ । ती मुलुकका नतिजा आफ्नो अनुकुल बनेमा न्यूजिल्याण्ड बाँकी तीनवटै म्याच हारे पनि सेमिफाइनमा पुग्ने सम्भावना रहन्छ ।

दाबेदार २ : भारत

भारतले अहिलेसम्म पाँचवटा म्याच खेलेको छ । उसले पनि अहिलेसम्म पराजित हुनु परेको छैन । एउटा म्याचमा अंक बाँडेको भारतले जम्मा ९ अंक हासिल गरेको छ ।

भारतले वेस्टइन्डिज, इंग्ल्याण्ड, बंगलादेश र श्रीलंकासँग खेल्न बाँकी छ । यी चारमध्ये कुनै दुई मुलुकलाई पराजित गरेमा भारत सेमिफाइनलमा पुग्न सक्छ । बाँकी चारमध्ये एउटा खेलमा मात्र उसले जित हासिल गरेमा भने उसले पनि सेमिफाइनल प्रवेशका लागि अन्य टिमको प्रदर्शनमा भर पर्नुपर्ने हुन्छ ।

दाबेदार ३ : इंग्ल्याण्ड

आयोजक राष्ट्र इंग्ल्याण्डले ७ वटा म्याच खेलिसकेको छ । अंक तालिकामा उसको ८ अंक छ । बाँकी दुईमध्ये दुवै म्याच जितेमा उसले सेमिफाइनलमा स्थान बनाउन सक्नेछ । कुनै एउटा म्याच हारेमा सेमिफाइनलमा पुग्ने उसको सम्भावना झिनो हुनेछ ।

दाबेदार ४ : बंगलादेश

बंगलादेशले ७ खेलबाट ७ अंक बटुलेको छ । उसका तीन खेल बाँकी छन् । तीन वटै खेलमा जित हासिल गरे बंगलादेश सेमिफाइनलमा पुग्न सक्छ । तीमध्ये दुईवटा म्याच जितेमा उसको ११ अंक हुन्छ र सेमिफाइनलमा पुग्ने सम्भावना रहन्छ । तर, त्यो अवस्थामा श्रीलंकाले आफ्ना सबै म्याच हार्नुपर्नेछ भने इंग्ल्याण्डले एकभन्दा बढी म्याच जित्नु हुँदैन ।

दाबेदार ५ : श्रीलंका

श्रीलंकाले हालसम्म ६ म्याचबाट ६ अंक हासिल गरेको छ । उसले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र भारतसँग खेल्न बाँकी छ । यी तीनै राष्ट्रसँगको खेल जितेमा श्रीलंका पनि सेमिफाइनलमा पुग्न सक्छ । दुई वटा खेलमात्र जित्न सकेमा भने उसले इंग्ल्याण्ड, बंगलादेश र पाकिस्तानका नजितामा भर पर्नुपर्ने बाध्यता हुन्छ ।

दाबेदार ६ : पाकिस्तान

 

पाकिस्तानले अहिलेसम्म ६ खेलबाट ५ अंक हासिल गरेको छ । उसले बाँकी तीन खेलमा जित हासिल गरेमा ११ अंक बनाउँछ । त्यो अवस्थामा इंग्ल्याण्डले उसका बाँकी दुईमध्ये एउटामा मात्र जित हासिल गरेमा पाकिस्तानको सेमिफाइनल पुग्ने सम्भावना बढ्छ । पाकिस्तानका लागि सेमिफाइनलको ढोका खुल्न बंगलादेश र श्रीलंकाले पनि कम्तीमा एक–एक म्याच हानुपर्नेछ ।

दाबेदार ७ : वेस्टइन्डिज

सेमिफाइनलका सात प्रतिश्पर्धीमध्ये वेस्टइन्डिजका लागि सबैभन्दा कठिन अवस्था छ । उसले अहिलेसम्म तीन अंकमात्र हासिल गरेको छ । उसले तीनवटा म्याच खेल्न बाँकी छ । तीनवटै म्याच जितेरमात्र पनि वेस्टइन्डिज सेमिफाइनलमा पुग्न सक्दैन । उसले हाल अंक तालिकामा आफूभन्दा माथि रहेका टिमको नतिजा आफ्नो अनुकुल बन्न सकेको अवस्थामा मात्र सेमिफाइलमा प्रवेश पाउनेछ, जो आफैंमा एउटा झिनो आशामात्र हो ।

दक्षिण अफ्रिका र अफगानिस्तान बाहिरिए

जारी विश्वकपमा दक्षिण अफ्रिका र अफगानिस्तान भने लिग चरणबाटै बाहिरिइसकेका छन् । अंक तालिकामा तीन अंक रहेको दक्षिण अफ्रिकाले सात म्याच खेलिसकेको छ । त्यसैले बाँकी दुई म्याच जितेर पनि उसले लिग चरण पार गर्ने अवस्था नरहेको हो । अफगानिस्तान भने सातवटा म्याच खेलिसक्दा पनि अंकविहीन नै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्