प्रदेश १ सभामा विनियोजन विधेयकमाथिको छलफल सुरु,बजेटले संघीयताको खिल्ली उडाएको आरोप

प्रदेश १ सभामा विनियोजन विधेयकमाथिको छलफल सुरु,बजेटले संघीयताको खिल्ली उडाएको आरोप

विराटनगर, १३ असार ।
प्रदेश सभामा सरकारले पेश गरेको विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ ।

प्रदेश सभाको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा विनियोजन भएको बजेटमाथि छलफल भएको छ । छलफलमा बोल्ने सांसदहरुले बजेटले विकासको चित्र स्पस्ट पार्न नसकेको र सरकारले विकासलाई नै नबुझेको भन्दै आलोचना पनि गरेका छन् ।
कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बजेटले संघीयताको खिल्ली उडाएको र बजेटको ठूलो हिस्सा विभिन्न नाममा केन्द्रीत गरेको बताउनुभयो । उहाँले मूख्यमन्त्रीलाई बलियो बनाउँदा संघीयता बलियो हुन्छ भन्ने मान्यता स्थापित गर्न बजेट त्यहि केन्द्रीत गरेको आरोप पनि लगाउनुभयो । भौतिक पूर्वाधार विकास मन्त्रालय तर्फका ४ सय योजनाहरुमा एक हजार रुपैयाँको दरले बजेट विनियोजन गरिएको भन्दै विरोध गर्नुभयो । उहाँले धनकुटा, तेह्रथुम, संखुवासभाका धेरै योजनामा एक हजार रुपैयाका दरले बजेट विनियोजन गरेको सरकारले मुख्यमन्त्रीको जिल्ला भोजपुरमा भने करोड घटीका कुनै योजना नरहेको टिप्पणी गर्नुभयो । सासंद उपेन्द्रप्रसाद घिमिरेले समग्रमा बजेट राम्रो रहेको बताउनुभयो । उहाँले कफि खेतीको विकासमा बजेट विनियोजन नभएको गुनासो गर्नुभयो ।

शुन्य समयमा आक्रोश
प्रदेश १ बैठकको शुन्य समयमा बोल्दैै प्रदेश सभा सदस्य बिमल कार्कीले पत्रकारहरुले तथ्यमा आधारित भएर समाचार नलेख्दा धेरै व्यक्तिहरु बदनामीको शिकार हुनुपरेको बताउनुभयो । उहाँले तथ्यमा आधारित समाचार लेख्न र जिम्मेवार भएर प्रस्तुत हुन पत्रकारहरुलाई आग्रह गर्नुभयो । शुन्य समयमा बोल्दै जसमाया गजमेरले उदयमान कलाकारको गीत र संगीत कपिराइटको विषयमा भएको विवादमा जातीय विभेद हुनेगरी दलित समुदायमाथि सामाजिक सञ्जालहरुमा गालिगलौज गर्नेहरुलाई कानूनी कारवाही गर्न माग गर्नुभयो ।यसैगरी गोपालचन्द्र बुढाथोकीले झापामा हात्ती आतंक रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो । यस्तै प्रदेश सभा सदस्य बिजय विश्वासले सरकारले किसानहरुको हितमा काम गर्नुपर्ने बताउनुभयो । सावित्री जोशीले धरान स्थित हात्तिसार क्याम्पसका विज्ञान संकायका विद्यार्थीहरुले परीक्षा पास गरेपनि प्रमाणपत्र नपाएको भन्दै प्रमाणपत्र दिने पहल गर्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्