दमौली १४ असार । नारायणगढका लागि बस नभेटेपछि लिफ्ट मागेकी एक महिलालाई ट्रकका चालक र सह चालकले सवारीभित्रै बलात्कार गरेका छन्। बुधबार साँझ नवलपरासी बर्दघाट सुस्ता पूर्वबाट दमौली आउँदै गरेको ना १ क ४३४९ नम्बरको ट्रकमा चढेकी ३० वर्षीया महिलालाई ट्रक भित्रै बलात्कारको अभियोगमा चालक र सह चालक दुवै पक्राउ परेका छन्।
ट्रकका चालक मोरङ ऊर्लाबारी नगरपालिका ३ सूर्यचोकका ३० वर्षीय चालक विमल ढकाल र सहचालक ३२ वर्षीय गोपाल भण्डारीविरुद्ध जर्बजस्ती करणी मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट अनुमति लिएर हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । प्रहरीका अनुसार नारायणगढ आफन्तकहाँ जान लागेकी ती महिलाले बस नभेटेपछि ट्रकसँग लिफ्ट मागेकी थिइन्। तर करिब दुई घण्टामा नारायणगढ पुगेको ट्रकबाट झर्न नदिएर आफूलाई जर्बजस्ती ट्रकमै बलात्कार गरिएको महिलाको आरोप छ ।
दमौलीका लागि रड लिएर आउँदै गरेको सो ट्रकलाई व्यास १२ छिर्कनेस्थित सडक किनारमै ट्रक रोकेर चालक र सहचालक दुवैले आफूमाथि बलात्कार गरेको महिलाको आरोप छ ।
विहान करिब १ बजेतिर भएको घटनापछि ट्रकले आफूलाई दमौली झारेको र आफू पोखरा पुगेपछि प्रहरीको सम्पर्कमा पुगेको महिलाको भनाइ छ । घटनालगत्तै प्रदेश प्रहरी कार्यालयको सूचनाका आधारमा तनहुँ प्रहरीले बीपी वन वाटिका मैदानमा रड अनलोड गर्दै गरेको अवस्थामा चालक र सहचालक दुवैलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लामिछानेले बताए ।
अन्नप्र्ण पोष्टबाट