विश्वकप क्रिकेट: आज भारत र बंगलादेश आमने–सामने, बंगलादेशको विशेष रणनीति

विश्वकप क्रिकेट: आज भारत र बंगलादेश आमने–सामने, बंगलादेशको विशेष रणनीति

लन्डन, असार १७ । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र बंगलादेश आमने–सामने हुँदैछन् । जारी विश्वकप क्रिकेटको ४० औं म्याचमा यी दुई टिम आमने–सामने हुँदा दुवैका लागि जित महत्वपूर्ण मानिने छ । त्यसैले दुवै टिम जितको खोजीमा दबाब महसुस गर्नेछन् ।

भारत र बंगलादेशले जारी विश्वकपको लिग चरणमा अहिलेसम्म ७ वटा म्याच खेलिसकेका छन् । यो दुवै टिमको आठौं म्याच हो । सात म्याचमध्ये भारतले पाँचवटामा जित हात पारेको छ भने एउटामा पराजय र एउटा म्याच वर्षाका कारण रद्द भएको थियो । बंगलादेशले भने सातमध्ये तीनवटामा मात्र जित हासिल गरेको छ । एउटा म्याच वर्षाका कारण रद्द हुँदा तीन वटा म्याचमा उसले पराजय झेलेको छ । अंक तालिकामा अहिलेसम्म ७ अंक जोडेको बंगलादेशले सेमिफाइनलमा स्थान बनाउनका लागि बाँकी दुवै म्याच जित्नुपर्ने बाध्यता छ ।

 

विश्वकप क्रिकेटमा यी दुई टिम तीन पटक आमने सामने भइसकेका छन् । तीनमध्ये एउटा म्याचमा बंगलादेश विजयी भएको छ भने दुई वटा म्याच भारतले जितेको छ ।

विश्वकप क्रिकेटमा भारत र बंगलादेश पहिलो पटक सन् २००७ मा आपसमा भिडेका थिए । त्यतिबेला बंगलादेशले भारतमाथि ५ विकेटको सानदार जित हासिल गरेको थियो । जारी विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना जीवित राख्न बंगलादेशले सन् २००७ कै इतिहास दोहोर्‍याउन जरुरी देखिन्छ ।

त्यसो त, सन् २०११ विश्वकप मा भारतले बंगलादेशलाई ८७ रनले पराजित गरेको थियो । सन् २०१५ को विश्वकपमा पनि भारतले बंगलादेशलाई १०९ रनको विशाल अन्तरले पराजित गरेको थियो । भारतले सन् २००७ को पराजयलाई बिर्सिएर विश्वकप क्रिकेका पछिल्ला दुई संस्करणलाई मात्र मनोबल बढाउने अस्त्रका रुपमा सम्झन चाहन्छ । बंगलादेशले भने सन् २००७ को जितलाई आफ्नो मनोबल बढाउने अस्त्र बनाउन जरुरी देखिन्छ ।

तीन पटक ३०० रनभन्दा बढी रन

जारी विश्वकप क्रिकेटमा बंगलादेशको प्रदर्शन उत्कृष्ट देखिएको छ । जारी विश्वकपको पाँचौं म्याचमा बंगलादेशले दक्षिण अफ्रिकाविरुद्ध ३३० रनको विशाल योगफल तयार पार्दै आफ्नो ब्याटिङ लाइनमा दम रहेको प्रमाण देखाइसकेको छ । सो म्याचमा बंगलादेश २१ रनले विजयी भएको थियो । २३ औं म्याचमा बंगलादेश र वेस्ट इन्डिज आमने सामने हुँदा बंगलादेशले ३२२ रनको विशाल लक्ष्य हासिल गर्दै सात विकेटको जित हात पारेर आफ्नो ब्याटिङ धार भरोसायोग्य रहेको साबित गरिसकेको छ । सो म्याच बंगलादेशले ४२ औं ओभरको तेस्रो बलमै आफ्नो पक्षमा पारेको थियो । अस्ट्रेलियाविरुद्धको म्याचमा पनि बंगलादेशले ३३३ रन बनाएको थियो, यद्यपि सो म्याचमा उसले ४८ रनको पराजय झेल्नु परेको थियो ।

 

जारी विश्वकपमा भारतले एउटा मात्र म्याचमा पराजय झेलेको भए पनि प्रतियोगितामै सबैभन्दा कमजोर मानिएको टिम अफगानिस्तानविरुद्ध भारतको जित निकै संघर्षपूर्ण रहेको थियो । पहिला ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २२४ रनमा समेटिएको भारतले अफगानिस्तानलाई पराजित गर्न ठूलो संघर्ष गर्नुपरेको थियो । अफगानिस्तान सो म्याचमा ११ रनको झिनो अन्तरले पराजित भएको थियो ।

इंग्ल्याण्डविरुद्धको म्याचमा भारतीय बलर निकै निरीह देखिँदा इंग्ल्याण्डले ३३७ रन बनाएको थियो भने ब्याटिङमा पनि भारतीय ब्याट्सम्यान निरीह रहँदै पाँच विकेट हातमा रहँदासमेत ३०६ रनमा समेटिएका थिए ।

पछिल्लो समय ब्याटिङ र बलिङमा निकै मजबुत हुँदै गएको बंगलादेशले भारतलाई कडा चुनौती दिने अनुमान विश्लेषकहरुले गरेका छन् ।

बंगलादेशको विशेष रणनीति

भारतविरुद्धको म्याचमा बंगलादेश विशेष रणनीतिका साथ मैदानमा उत्रिने भएको छ । बंगलादेशका कप्तान मसर्फी मुर्तजा बाहिरी दबाबबाट मुक्त भएर मैदानमा उत्रिने बताउँछन् ।

बंगलादेशका बलिङ प्रशिक्षक कर्टनी वेल्सले नयाँ बलको उचित प्रयोग गरेर भारतका प्रारम्भिक ब्याट्सम्यानलाई चाँडै मैदानबाट बाहिर पठाउने योजना बनाएको बताएका छन् । पिचको अवस्था हेरेर स्पिनरलाई मद्दत पुग्ने अवस्था देखिए नयाँ बल छँदै आफ्ना स्पिनरलाई शुरुवाती ओभरमै जिम्मेवारी दिन सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्