प्रदेश १ मा बोर्डर आउट पोष्टको संख्या बढाउने प्रदेश सरकारको तयारी

प्रदेश १ मा बोर्डर आउट पोष्टको संख्या बढाउने प्रदेश सरकारको  तयारी

विराटनगर, १९ असार ।
प्रदेश १ मा पर्ने बोर्डर आउट पोष्ट (बिओपी)को संख्या बढाउन प्रदेश सरकारले तयारी गरेको छ। प्रदेश १ मा हाल १७ वटा बिओपी  रहेको छ। चालू आर्थिक वर्षमा १३ वटा थप आउट पोष्ट निर्माण भइरहेको छ भने आगामि आर्थिक वर्षमा त्यसलाई बढाएर ४१ वटा पुर्‍याउने आफूहरूको लक्ष्य रहेको प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

प्रदेशसभाको बुधबार बसेको बैठकमा विनियोजन विधेयकमाथि आफ्नो मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीले बिओपी निर्माणका लागि आगामि आर्थिक वर्षका लागि ३ करोड ७८ लाख बढी बजेट विनियोजन गरेको पनि जानकारी दिए। भारत सरकारले सीमा क्षेत्रमा ३ किलोमिटरको अन्तरमा बोर्डर आउट पोष्ट राखेको छ। तर, नेपालको पोष्ट भने झण्डै २१ किलोमिटरको अन्तर रहेको जानकारी दिँदै मन्त्री कार्कीले ४१ वटाको संख्यामा पुर्‍याउँदा बोर्डर आउट पोष्टको अन्तर तराई क्षेत्रमा ७ किलोमिटर रहने बताए।

पोष्टका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्न संघीय सरकारसँग परामर्श गरी बजेट विनियोजन गरिएको उनले बताए। मन्त्री कार्कीले प्रदेश प्रहरी गठनका लागि कानून निर्माणको लागि ड्राफ्ट तयार भएको बताए। उनले केन्द्रबाट प्रहरी सेवाको विषयमा कानून पारित भएलगत्तै प्रदेशमा पनि पारित गरिने र प्रदेश प्रहरी गठन गरिने उनले जानकारी दिए। आन्तरिक मामिला मन्त्रालयले विनियोजन गरेको बजेटको विषयमा बोल्दै संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले भने सरकारको आलोचना गरे।

उनले २ वर्ष बित्न लाग्दा पनि भौतिक पूर्वाधार, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्ति नभएको भन्दै मुख्यमन्त्रीको आलोचना पनि गरे। छलफलमा भाग लिँदै कांग्रेसका सांसद शिवनारायण गनगाईंले बजेटमा भइपरि आउने खर्च भन्दै १ अर्ब रुपैयाँ राखिएको भन्दै आपत्ति जनाए। उनले पोको पारेर पैसा राखेर आफूखुसी खर्च गर्ने मनसाय राखेको भन्दै अपुग रहेको ठाउँमा उक्त रकम खर्च गर्नुपर्ने माग गरे।

‘भईपरि आउने खर्चको १ अर्ब किन राख्नुभयो?’, गनगाईंले भने, ‘भईपरि भनेर बजेट लुकाएर राख्ने नियत देखियो, १४ जिल्लामा १ करोड गोटाका १ सयवटा पुल हालिएको भए हुनेथियो, असुरक्षित स्थानमा प्रहरी चौकि निर्माण गरिएको भएपनि हुनेथियो, अर्थमन्त्रीज्यूले आफूखुसी अन्तिममा खर्च गर्न भइपरी शीर्षक राखेर बजेटको दुरुपयोग गर्ने मनसाय देखियो।’ छलफलमा सांसद प्रतापप्रकास हाङमाङ, कूलबहादुर साम्बा, श्रीप्रसाद मैनालीलगायतले बोलेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्