प्रदेश १ मा असार मध्यसम्ममा १७ प्रतिशत मात्र धान रोपाइँ

प्रदेश १ मा असार मध्यसम्ममा  १७ प्रतिशत मात्र धान रोपाइँ

विराटनगर,  । प्रदेश १ मा असार मध्यसम्ममा साढे १७ दशमलव ४१ प्रतिशत मात्र धान रोपाइँ भएको छ । प्रदेश १ मा ३ लाख ४० हजार ८२९ हेक्टरमा धानखेती हुँदै आएकोमा असार १५ सम्म ५९ हजार ३ सय ५२ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ भएको कृषि विकास निर्देशनालय, विराटनगरले बताएको छ ।

प्रदेशका धानखेती हुने विभिन्न जिल्लामध्ये भोजपुरमा सबैभन्दा बढी प्रतिशत धानखेती भएको छ । जिल्लामा १ हजार ८९२ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकोमा हालसम्म ५५ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ । त्यस्तै ताप्लेजुङ र धनकुटामा सबैभन्दा कम ३/३ प्रतिशतमात्र धान रोपाइँ भएको कृषि निर्देशनालयका वरिष्ठ कृषि प्रचार अधिकृत प्रकाशकुमार डाँगीले जानकारी दिए ।

उच्च पहाडी तथा मध्य पहाडी जिल्लामा निरन्तर रूपमा फाट्टफुट पानी परिरहेकाले तराईका जिल्लाभन्दा बढी धान रोपाइँ भएको हो । केही वर्षअघि मोरङको लोहन्द्रा खोलामा आएको बाढीले नहर बगाउँदा लोहन्द्रादेखि दक्षिण केरौनसँगै रंगेलीसम्म र कानेपोखरी–रंगेली रोडको पश्चिमका करीब १० हजार हेक्टरमा धानखेती गर्न समस्या भएको निर्देशनालयले बताएको छ । सुनसरी मोरङ सिँचाइ आयोजनाले बाढीले भत्काएको नहरको मर्मत नगर्दा धानखेतीमा सिँचाइको समस्या भएको हो ।

धान उत्पादनका लागी उपयुक्त मानिने मोरङ, सुनसरी, झापा पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाइँ ढिलो भएको छ । यसले धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । धानखेतीका लागि सिँचाइ पर्याप्त नहुँदा सबैभन्दा बढी धान उत्पादन हुने पूर्वी तराई क्षेत्रमा उल्लेख्य मात्रामा धान रोपाइँ हुन नसकेको हो । वरिष्ठ कृषि प्रचार अधिकृत डाँगीले केही दिनभित्रै मनसुन सक्रिय हुने सम्भावना रहेकाले साउन महीनाभर खेतीयोग्य जमीनमा रोपाइँ हुने अपेक्षा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्