वैदेशिक रोजगारीमा ठगी धन्दा : मोरङ लेटाङका १४ जना युवा आफ्नै नातेदारबाट ठगिए

वैदेशिक रोजगारीमा ठगी धन्दा : मोरङ लेटाङका १४ जना युवा आफ्नै नातेदारबाट ठगिए

प्रेम देवान
विराटनगर १९ असार । वैदेशिक रोजगारीका इजरायल पठाइदिने भन्दै लेटाङका १४ जना युवा युवतीसँग लाखौं रुपैयाँ ठगी भएको श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी परेको छ ।
मोरङको लेटाङ नगरपालिका–५ का ५० वर्षीय कूलबहादुर लिम्बूले आफ्नै नातेदार छरछिमेकी सहित १४ जनाबाट लाखौं ठगी गरेको आरोप सहित निवेदन दर्ता भएको हो । ईजरायलमा १४ जना युवा युवतीलाई पठाउने भन्दै जनही एक लाख देखि २ लाख ८० हजारसम्म रकम लिएको पिडितहरुले बताएका छन् ।

श्रम तथा रोजगार कार्यालय विराटनगरका अनुसार कूलबहादुरको ठगीमा आफन्त र छिमेकीहरु परेका छन् । सबैसँग गरेर करिब १९ लाख ८० हजार रुपैयाँ विगो दावी भएको कार्यालयका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए । उनले १४ जनासँग प्रतिव्यक्ति एक लाखदेखि दुईलाख ८० हजार रुपैयाँसम्म ठगी गरेको बताए । तीन वर्षदेखिको ठगीमा पर्नेमा उनका भतिजा, भान्जादेखि छिमेकी पनिछन् ।

को– को ठगिए नाम सहित
लेटाङ–३ का हर्कबहादुर लिम्बू, लेटाङ–५ का खड्गबहादुर सुब्बा, रामबहादुर मगर, गोपाल चेम्जोङ, सजेन्द्र बोहरा, दुर्गा बोहरा, कृष्णबहादुर मगर, प्रदीप लिम्बू, जीतबहादुर राई, लेटाङ–६ का गंगाराम थापा, लेटाङ–८ की सपना राई, लेटाङ–९ का रुद्र लिम्बू, धनबहादुर लिम्बू र सुमन लिम्बूमाथि कूलबहादुरले ठगी गरेको कार्यालयले जनाएको छ ।
नातामा हर्क बहादुर, खड्गबहादुर र प्रदीप भतिजा एवं रुद्रबहादुर भान्जा हुन् । कूलबहादुरले २०७५ साल असार मसान्तसम्ममा सबै जनालाई पर्यटक भिसामा इजरायल पठाइसक्ने र पठाउन नसके तत्काल पैसा फिर्ता दिने भनेर कागज पनि गरेका छन् ।
पुरुष तथा महिलालाई जान सहज हुने विमानस्थल प्रयोग गरेर इजरायल पुगेपछि श्रम गर्न पाउने वर्क परमिट भिसाको व्यवस्था मिलाइदिने कागजमा उल्लेख छ । इजरायल पुगेपछि कूलबहादुरलाई प्रति व्यक्ति ८ लाख रुपैयाँ बुझाउनु पर्ने भनेर गरिएको कागजमा पीडित युवा, युवती तथा कूलबहादुुरको हस्ताक्षर र औंठा छाप छ । सबै कागज आवर विराटनगरसँग सुरक्षित छ ।

काम कृषी फार्म भित्री धन्दा विदेश पठाउने
केवी लिम्बु हाल काठमाडौं टोखा नगरपालिका–८ मा गाई पालन तथा सुब्बा अर्गानिक तरकारी फार्म चलाउदै आएका छन् । फार्म सञ्चालक लिम्बूको धन्दा भने विचित्रको रहेको छ । बाहिर देखाउँदा आफू एउटा महान कृषक भन्ने देखाउने उनको भित्री धन्दा भने धेरैलाई आश्चर्य चकिन पार्ने खालको अर्गानिक तरकारी र दूध उत्पादन गर्ने नाममा वैदेशिक रोजगारीको अवैध धन्दा चलाउने गरेको पाईएको छ ।

पीडितहरुले विराटनगरमा पत्रकार सम्मेलन समेत गरेर आफूहरु आफ्नै नातेदारबाट ठगिएको बताएका छन् । उजुरीकै आधारमा श्रम कार्यालयले पक्राउ पूर्जी जारी गरेपछि महानगरीय प्रहरी परिसर टेकुले कूलबहादुरलाई काठमाडौंबाट पक्राउ गरेर विराटनगर ल्याएको थियो ।
पक्राउ गरेर विराटनगर ल्याइएका कूलबहादुरलाई ३५ दिन भित्र सबै रकम फिर्ता गर्ने गरी कागज गराएर साधारण तारेखमा छाडिएको छ । पैसा फिर्ता नगरेसम्मका लागि उनको नाममा रहेको ८ कित्ता जग्गा रोक्का गरिएको श्रम कार्यालयका प्रमुख प्रमे सञ्जेलले बताए । उनका अनुसार तोकिएको समयमा पैसा फिर्ता नगरे त्यही जग्गा लिलाम बिक्री गरेर पीडितलाई भराउने प्रक्रिया अघि बढाइने छ ।

केवीसँगै ठगी धन्दामा अर्का सहपाठी फरार छन्
ठगी धन्दामा उनीसँगै सिन्धुपाल्चोकका ज्ञानबहादुर तामाङ पनि संलग्न रहेको अनुसन्धानले देखाएको छ ।
एक पटक श्रम कार्यालयको सम्पर्कमा आएका ठगीमा संलग्न कूलबहादुरका अर्का साथी ज्ञानबहादुर तामाङ अहिले फरार रहेको र खोजी भइरहेको सञ्जेलले बताए ।
सञ्जेलले भने ‘कूलबहादुर र ज्ञानबहादुर दुवै जना विदेश जान सक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यसमा पनि रोक लगाईसकिएको छ ।’ बुधबार तारेखमा बोलाइएका कूलबहादुरले भ्रष्टाचार विरोध छवि बनाएका नेपाल सरकारका उपसचिव एवं श्रम अधिकृत सञ्जेललाई पनि कार्यालयमै प्रलोभनमा पार्ने प्रयास गरेको बताइएको छ । त्यसपछि सञ्जेलले कर्मचारीलाई निर्देशन दिएर उनलाई कार्यकक्षबाट बाहिर निकालेका थिए ।

ईजाजत बिनै विदेश पठाए
विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनु पर्नेमा अनुसन्धान गर्दा कुलबहादुरको आफ्नो मेनपावर समेत नभएको पाईएको छ ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले कसैले पनि मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सो सँग सम्बन्धित काम गर्न रोक लगाएको छ ।
कुलबहादुरको स्पष्टीकरण
कूलबहादुरले भने बिहीबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई सञ्जेलले दुरव्यवहार गरेको आरोप लगाए । सञ्जेलले एउटा सेवाग्राहीमाथि गर्नै नहुने व्यवहार देखाएको र विभिन्न धम्कीहरु पनि दिएको दाबी गर्दै कुलवहादुरले आफ्ना कर्तुत लुकाउने प्रयास गरे । कुलबहादुरले गाई र तरकारीको फार्म खोलेर बसेका कारण वैदेशिक रोजगारीमा कहीं पनि नजोडिएको दाबी गरे । ‘मैले कोही कसैलाई विदेश पठाइदिने भनेर भनेकै छैन,’ कूलबहादुरले भने, ‘त्यत्तिकै झुठो आरोप लगाएर दुःख दिने काम भइरहेको छ ।’
१४ जनाले श्रम कार्यालयमा दिएको उजुरी र इजरायल पठाइदिने भनेर गरेको कागजका विषयमा भने उनले केही बोल्न चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्