काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटमा लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गरे पनि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
पाकिस्तान बाहिरिएसँगै न्यूजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको लिग चरणको अन्तिम खेलमा पाकिस्तानले बंगलादेशलाई ९४ रनले पराजित गरेको हो ।
पाकिस्तानलाई सेमिफाइनल पुग्न बंगलादेशमाथि ३ सय ८ रनको जित आवश्यक थियो । तर, पाकिस्तानले झिनो अन्तरले जित निकालेसँगै न्यूजिल्याण्डले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
योसँगै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । साविक विजेता अष्ट्रेलियासहित भारत, ईङ्ल्याण्ड र न्यूजिल्याण्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।
इङ्ल्यान्डको लर्ड्समा पाकिस्तानले दिएको ३ सय १६ रनको फराकिलो लक्ष्य पछ्याएको बंगलादेश ४४ ओभर १ बलमा अलआउट हुँदै २ सय २१ रनमा समेटियो
बंगलादेशका लागि शकिब अल हसनले ६४ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।
योसँगै शकिब एकै विश्वकपमा ६ सय रन बनाउने तेस्रो खेलाडी बने । उनले जारी विश्वकपमा ११ विकेटसमेत लिएका छन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १५ रन बनाएको थियो । पाकिस्तानका इमाम उल हकले शतकीय इनिङ्स खेले ।
१०० बल खेलेका उनले ७ चौकाको मद्दतले १०० रन बनाए । यस्तै बाबर आजमले ९६, इमाद वासिमले ४३, मोहमद हाफिज २७ तथा फखर जमानले १३ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ५ र मोहमद सैफुदीनले ३ विकेट लिए ।
जितसँगै पाकिस्तान लिग चरणमा पाँचौ स्थानमा रह्यो । पाकिस्तानले ९ खेलबाट ११ अंक जोड्यो ।
११ अंक जोडे पनि न्यूजिल्यान्ड नेट रन रेटका आधारमा सेमिफाइनलमा पुग्यो । बंगलादेश ९ खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा रह्यो ।
प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छन् । नेपाली समयअनुसार दिउँसो सवा ३ बजे हुने खेलमा भारत र श्रीलंका भिड्ने छन् ।
त्यसैगरी साँझ सवा ६ बजे हुने खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्ने छन् ।