विराटनगर सिमापारी सातादेखि रोकिए पेट्रोलियम ट्याङ्कर र ग्यास बुलेट, सिमावारी अभाव

विराटनगर सिमापारी  सातादेखि रोकिए पेट्रोलियम ट्याङ्कर र ग्यास बुलेट, सिमावारी अभाव

विराटनगर , २१ असार । विराटनगर भन्सार नाकाबाट नेपाल भित्रने पेट्रोलियम पदार्थ बोकेका ट्यांकर र ग्यास बुलेट एक साताभन्दा बढी सयमदेखि सीमापारी नै रोकिएका छन्। जोगवनी नाकामा पेट्रोलियम पदार्थ बोलेका सयभन्दा बढी ट्यांकर र २० वटा ग्यास बुलेट रोकिएको भन्दै सहज रुपमा नेपाल भित्रने वातावरण बनाइदिन नेपाल आयल निगमले भारतलाई पत्र पठाएको छ। निगमले शुक्रबार भारतीय भूमिपत्तन प्राधिकरण (ल्यान्ड पोर्ट अथोरिटी अफ ईन्डिया-एलपिएआई)लाई पेट्रोलियम पदार्थको आयातमा सहज गरिदिन पत्र पठाएको हो।

‘जोगवनी बजारको मुख्य सडकको खराब अवस्था र सयौंको संख्यामा रोखिएका ठूला कार्गोका कारण ईन्धन आपूर्ति प्रणालीमा असर परेको छ। हामी यस्तो अवस्थालाई गम्भीरताका साथ लिन आग्रह गर्दछौं। र ती ट्याङ्करहरु यथासक्य चाँडो एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर पठाई दिन आग्रह गर्दछौं,’ निगमले एलपिएआई जोगवनीलाई पठाएको पत्रमा उल्लेख छ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतले एक हप्ताभन्दा बढी समयदेखि पेट्रोलियम ट्यांकर र ग्याँस बुलेट भारतको जोगवनीमा रोकिएको पुष्टि गरे। ‘पछिल्लो केही दिनदेखि जोगबनीबाट ट्यांकर भित्रिएका छैनन्। हामीले थुप्रै छलफल पनि गरेका छौं। एलपिएआईलाई पनि पत्र पठाएका छौं,’ उनले भने।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले भने भारतीय ट्यांकर नै जोगवनीको बाटो प्रयोग गरी आउन नचाहेको बताए। उनले ट्यांकरले अनावश्यक बखेडा झिकेर नेपाल आउन नचाहेको बताए।   प्रजिअ केसीले भने, ‘त्यही बाटोबाट अरु मालबाहक सवारी आईरहेका छन्। तर ईन्धन बोकेका सवारी साधन मात्रै आउन मानिरहेका छैनन्।' ट्यांकर चालकसँग छलफल भइरहेको समेत उनले जानकारी दिए।

भारतबाट इन्धन बोकेर सीमापारी बसेका ट्यांकर चालकलाई उद्धृत गर्दै प्रजिअ केसीले भने, 'हामी एकीकृत जाँच चौकी जोगबनीबाटै आउँछौं, अहिले प्रयोग गरिरहेको बाटोबाट नेपाल जान सहज छैन। त्यहाँ प्रहरीले पनि हामीलाई दुःख दिए। दुर्व्यवहार गरे।' यी लगायतका कारण देखाएर नेपाल जान नसकिने ट्यांकर चालकले बताएको उनको भनाइ छ। प्रजिअ केसीले भने, 'हामीले भन्टाबारी नाकाबाट आउन आग्रह गर्दा पनि उनीहरु मान्दैनन्। आईसीपीबाटै आउँछौं भन्छन्। आईसीपी पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन। निर्माणकै क्रममा छ। त्यसलाई सञ्चालन गर्नका लागि परराष्ट्र मन्त्रालयसँग पनि छलफल गर्नुपर्छ।’

ट्यांकर चालक र प्रतिनिधिसँग शनिबार बिहान पनि छलफल भएको केसीको भनाइ छ। ‘हामीले वैकल्पिक बाटो प्रयोग गर्न सकिने भन्दै भन्टाबारी भएर आउन भन्यौं। तर उनीहरु मानिरहेका छैनन्। बिहीबार बेलुकादेखि इन्धन बोकेका सवारी नेपाल छिरेका छैनन्। हामीले आग्रह त गर्यौ तर उनीहरु आउँछन्, आउँदैनन् थाहा छैन,’ केसीले भने।

भारतले जोगवनीको बाटोमा अत्याधिक सवारी चाप भएको र सडक पनि जीर्ण भएको कारण देखाउँदै इन्धन बोकेका सवारी साधनलाई त्यो बाटो हिँड्न कडाइ गरेको देखिन्छ। सोही कारण सीमा नाकामा खटिएका भारतीय प्रहरीले ट्यांकर चालकलाई दुःख समेत दिने गरेका छन्।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्याल हाल प्रयोग भईरहेको जोगबनी-विराटनगर सडक अत्यन्तै जीर्ण भईसकेको र उक्त बाटोबाट ईन्धन ढुवानी गर्न कठिन भईरहेको बताउँछन्।

‘त्यो बाटोमा निकै खाल्डा खुल्डी छन्। भारतले पनि त्यो बाटमा अत्याधिक चाप भयो भनेर विकल्प खोज्नुपर्ने भनिरहेको छ। त्यहाँ अरु सवारी साधन आउन सक्छन तर इन्धन बोकेका सवारी साधन ल्याउँदा निकै असुरक्षित भए,' उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्