एग्रो टुरिजम अभियान : मोरङको तेतरियाबाट ६ करोड लगानीमा शुरु भएको अभियानले गति लिँदै

एग्रो टुरिजम अभियान : मोरङको तेतरियाबाट ६ करोड  लगानीमा शुरु भएको अभियानले गति लिँदै

विराटनगर, २६ असार । एग्रो टुरिजमको अभियानलाई सार्थक बनाउन बराह ग्रूपले ६ करोड रुपैयाँभन्दा बढी लगानीमा मोेरङको ग्रामथान–५ तेतरियामा शुरू गरेको बराह कृषि उपज तथा पशुपालन परियोजनाले गति लिन थालेको छ । साढे चार बिगाहा क्षेत्रफलमा शुरू भएको परियोजना यस वर्षदेखि बढेर ६ बिगाहा १४ कठ्ठामा सञ्चालित छ ।

परियोजनाको गत वर्ष प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका थिए । परियोजनामा कृषिसँगै पशुपालनलाई पनि जोड दिइएको छ । पर्यटन वर्ष २०२० लाई सहयोग पुर्‍याउन यसै वर्षदेखि परियोजनाले एग्रो टुरिजमको अभियान सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रमा पर्यटकको आकर्षण बढाउन एकै ठाउँमा पशुपालनदेखि विभिन्न खाद्यान्नको खेती शुरू गरिएको छ ।

ग्रूपले परियोजना अन्तर्गत २ वर्षदेखि कृषि उपज तथा पशुपालनतर्फ पनि लगानी गर्दै आएको छ । परियोजनाले माछा, कुखुरा, गाई पालन तथा उन्नत जातका घाँसको उत्पादनलाई प्राथमिकता दिएको परियोजनाका अध्यक्ष मानबहादुर विश्वकर्माले बताए । उनका अनुसार हाल माछा, कुखुरा, बङ्गुर एवम् ह्याचरी भुरा माछा उत्पादन गरी विक्री वितरण गर्न थालिएको छ । उन्नत जातका बाख्रापालन साथै मासुको पनि विक्री वितरणका लागि छुट्टै कक्ष सञ्चालन गरिने उनले बताए ।

परियोजनाले आगामी दिनमा डेरीमार्फत दैनिक १ हजार लिटर दूध उत्पादन गर्ने लक्ष्य राखेको छ । उनले भने, ‘बराहले उत्पादन गरेका दुग्धजन्य परिकारका साथ अर्गानिक उत्पादनलाई धरानस्थित बराहकै बराह किचनसम्म पुर्‍याउने योजनामा छौं ।’

ग्रूपका अध्यक्ष शिवकुमार लामिछाने विकले कृषिको उत्पादन, आधुनिकीकरण र यन्त्रीकरणमा जोड दिँदै उत्पादकत्व बढाउने र लागत घटाउनेतर्फ कम्पनी लागिपरेको बताए । हाल २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा माछा पालनसहित कुखुरा फार्ममा १५ सय कुखुरा र ३६ ओटा गाई पालिएको छ । बाँकी क्षेत्रफलमा विभिन्न जातका धान खेती गरिँदै आएको हो ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले दीर्घकालीन सोच र परिकल्पनाका साथ बराहले २५ वटा विभिन्न परियोजना सञ्चालन गरिरहेको छ । २०५२ सालमा सामान्य सुन पसलबाट व्यवसाय शुरू गरेको ग्रूपले हालसम्म धरान, पोखरा, काठमाडांै, चितवन तथा हङकङ, दुबई र युकेमा पनि आप्mनो व्यापार विस्तार गरिसकेको छ । अभियान दैनिकबाट। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्