विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड फाइनलमा

विश्वकप क्रिकेट : साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड फाइनलमा

काठमाडौं । साविक विजेता अस्ट्रेलियालाई स्तब्ध बनाउँदै आयोजक इङ्ल्याण्ड एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

गएराति इङ्ल्याण्डको बर्मिङ्घममा भएको सेमिफाइनलमा अस्ट्रेलियालाई ८ विकेटले पराजित गर्दै इङ्ल्याण्ड उपाधि नजिक पुगेको हो । हारसँगै पाँच पटकको विश्वविजेता अस्ट्रेलिया भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब इङ्ल्यान्डले उपाधिका लागि आइतबार न्यूजिल्याण्डसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्यूजिल्याण्ड फाइनलमा पुगेको थियो।

इङ्ल्याण्ड र न्यूजिल्याण्ड फाइनल पुगेसँगै एकदिवसीय विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन राष्ट्र थपिने निश्चित भएको छ । इङ्ल्याण्ड र न्यूजिल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेका छैनन् ।

हिजो भएको खेलमा अस्ट्रेलियाले दिएको २ सय २४ रनको सामान्य लक्ष्य इङ्ल्याण्डले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

घरेलु टोलीको जितमा जेसन रोयले सर्वाधिक ८५ रन जोड्दा जो रुटले अविजित ४९ रन तथा कप्तान इयान मोर्गनले अविजित ४५ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय २३ रन बनाएको थियो ।

अस्ट्रेलियाका स्टिभ स्मिथले ८५ रन जोड्दा अलेक्स क्यारेले ४६ रनको योगदान दिए ।

इङ्ल्याण्डसँगको हारसँगै अस्ट्रेलियाले पहिलो पटक विश्वकपको सेमिफाइनल खेल गुमाएको छ ।

यसअघि अस्ट्रेलियाले विश्वकपको सेमिफाइनलमा ७ पटक जित निकालेको थियो । इङ्ल्याण्ड भने सन् १९९२ पछि पहिलो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्