अविरल वर्षाका सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द

अविरल वर्षाका सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द

शशीधर पराजुली ,

विराटनगर, असार २९ गते । सुनसरी मोरङ औद्योगिक कोरिडोरका अधिकांश उद्योग बन्द भएका छन् । अविरल वर्षाका कारण पानी पसेपछि उद्योग बन्द भएका हुन् । करिडोर अन्तर्गतका अधिकांश उद्योग उत्तर दक्षिण कोसी राजमार्गको आसपासमा छन् । त्यसबाहेक विराटनगर–रङ्गेली सडक खण्ड र दुहवी–इनरुवा सडक खण्ड आसपासमा छन् । ती उद्योगमा अधिक पानी जमेका कारण उद्योग चलाउन सक्ने अवस्था छैन ।

यस क्षेत्रका उद्योग शुक्रबारदेखि नै बन्द भएका हुन् । ‘करिडोरका उद्योग विराटनगर–धरान सडक खण्डमा छन् र ती सबै उद्योग सडकभन्दा होचो भूभागमा छन्’ मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले भन्नुभयो ‘सडकको उचाइ बढेसँगै धेरै उद्योग डुबेका छन् ।’
उद्योग क्षेत्रमा पानी निकासका लागि व्यवस्थित नालाको व्यवस्था छैन । जसले गर्दा वर्षामा उद्योगभित्र पानी पसेको हो । त्यसमाथि पनि निरन्तरको वर्षाले पानीको निकास झनै कठिन बनाएको उहाँले बताउनुभयो ।

अध्यक्ष मुन्दडाको कटहरी गाउँपालिकामा सञ्चालित बाबा जुटमिल पनि शुक्रबारदेखि नै बन्द भएको छ । उहाँले भन्नुभयो ‘उद्योगभित्र पानी पूरै जमेको छ, सडकमा बिजुलीका खम्बा पनि ढलेका छन् जसले गर्दा विद्युत् आपूर्ति पनि बन्द भएको छ । यस्तो बेलामा उद्योग चलाउन सक्ने अवस्था नै छैन ।’ कटहरी क्षेत्रमा रहेको दर्जनभन्दा बढी ठूला उद्योग शुक्रबारदेखि बन्द भएका छन् । उद्योगमा पानी नपसे पनि उद्योग चलाउन सक्ने अवस्था नरहेको अध्यक्ष मुन्दडाले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘केही उद्योगमा पानी पसेको छैन तर काम गर्ने मजदुरको घर डुबेको छ, मजदुर काम गर्न आउन सक्ने अवस्था छैन यस्तो बेलामा उद्योग चल्नै सक्दैन ।’

यसै वर्षदेखि सुनसरीको दुहबीमा सञ्चालनमा आएको प्रिमियर स्टिल उद्योग पनि पानी पसेका कारण बन्द भएको छ । सुनसरीका पनि आधाभन्दा बढी उद्योग बन्द भएको बताइएको छ । विराटनगरका उद्योगी महेश जाजुले सञ्चालन गर्दै आउनुभएको हिमगिरि सोप उद्योगमा पानी टिलपिल भरिएका कारण उद्योग बन्द छ । उहाँले भन्नुभयो ‘‘हामी आर्थिक वर्षको अन्तिममा क्लोजिङको तयारी गरिरहेका थियौँ, प्रकृतिले उद्योग नै क्लोज गरिदियो ।’

उद्योगमा पानी पसेर सबै कच्चा पदार्थ नष्ट गरिदिएको छ भने मेसिन पनि बिगारिदिएको जाजुले बताउनुभयो । उहाँले तत्काल उद्योग खोलेर चलाउन सक्ने अवस्था नरहेको जानकारी दिनुभयो । उद्योगहरू बन्द हुँदा उत्पादन र उत्पादकत्व घटेको छ । यसले उपभोक्ता र बजारलाई पनि प्रभावित बनाएको छ । तत्काल यसको असर नदेखिए पनि विस्तारै मूल्यलगायतमा यसको नकारात्मक असर पर्ने उद्योगीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्