सशस्त्रका इन्सपेक्टरको कुटाईबाट जवानको कानको जाली फुट्यो, नोवेलमा उपचार हुँदै

सशस्त्रका इन्सपेक्टरको कुटाईबाट जवानको कानको जाली फुट्यो, नोवेलमा उपचार हुँदै

विराटनगर, २९ असार । सशस्त्र प्रहरीका इन्सपेक्टर सियाराम चौधरीले आफ्नै प्रहरी जवानलाई कुटपि गरेका छन् । कुटपिट पछि घाईते भएका सशस्त्र प्रहरी जवानका् बिराटनगरको नोबेल अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेका कारण उनलाई आईसीयूमा भर्ना गर्नु परेको अस्पतालले जनाएको छ ।

शस्त्र प्रहरी बल ७ नम्बर गण हेड क्वाटर सिरहामा कार्यरत इन्सपेक्टर चौधरीले त्यहीं कार्यरत सप्तरीको शम्भुनाथ नगरपालिका–१ घर भएका जवान ३२ वर्षीय यादवमाथि गत बुधबार कुटपिट थिए ।
श्रीमती सोनु कुमारीसँगको सम्बन्ध विच्छेदको मुद्दा सप्तरी जिल्ला अदालतमा चलिरहेका बेला आफूमाथि कुटपिट गरिएको यादवले बताए । ५ वर्ष अघि बिहे गरेका यादव दम्पतिका ३ वर्षीय छोरी पनि छन् । इन्सपेक्टर चौधरीले बिहान ७ बजे १५ मिनेट जाँदा आफूमाथि बुट र मुक्का प्रहार गरेको उनले बताए । ‘टाउको जोगाउन थाल्दा ढाडमा कुटियो,’ उनले भने, ‘त्यसपछि बेहोस भएछु ।’ एक जना जवानलाई बोलाएर ल्याउन लगाएर आफूमाथि कार्यालयकै गेटमा सबैका अगाडि कुटपिट गरिएको यादवको आरोप छ ।

कुटपिटपछि सशस्त्रका असई कामेश्वर यादव र जवान पेशल थापाले उपचारका लागि लिएर आएको उनले बताए । ‘दुवै जना मिलेर कुटपिट गरेको कुरा कोही कसैलाई नभन्नु भन्न थाले,’ उनले भने, ‘यो घटना बाहिर ल्याउनु पर्छ भन्दा मलाई अस्पतालमै छाडेर दुवै जना हिँडे ।’ यादवलाई रुँघेर अस्पतालमा अहिले बुवा सुदिनलाल यादव र भान्जा अर्जुनकुमार यादव बसेका छन् ।
सुदिनलालले छोरामाथि बिना कारण इन्सपेक्टरले कुटपिट गरेको कुरामा सशस्त्रले गुपचुप राख्न खोजेको आरोप लगाए । उनले ड्युटीमा रहेको छोरोमाथि कुटपिट गर्नेलाई कारबाही हुनु पर्ने माग गरे । अस्पतालका चिकित्सक डा. मनोजकुमार यादवले घाइते सशस्त्रका जवान यादवको टाउको र छात्तीमा चोट रहेको तथा कानको जाली फुटेका कारण स्वास्थ्यमा गम्भीर समस्या रहेको बताए ।
इन्सपेक्टर चौधरीले भने आफूले यादवमाथि कुटपिट नगरेको बताएका छन् । लामो समयदेखि श्रीमतीसँगको लफडा रहेको र त्यो समस्या समाधान गर्न समन्वयकारी भूमिका निर्वाह गरेका कारण आफूमाथि कुटपिटको आरोप लगाईएको उनको भनाई छ । ‘संगठनको आचरण विपरित गतिविधी गर्ने गरेका कारण यादवमाथि अलि कडाई गर्ने गरिएको थियो,’ चौधरीले भने, ‘कुटपिट नभई सम्झाई बुझाई गर्ने क्रममा उनी आफै ढलेका हुन् ।’ उनले यादवले आफूभन्दा माथिल्लो दर्जाकालाई सधैं धम्क्याउने र थर्काउने गरेको आरोप लगाए ।

गणका एसपी सोमबहादुर गुरुङले जवान यादवले पारिवारिक तनावको रिस कार्यालयको काममा ल्याएर पोख्ने गरेको र इन्सपेक्टर चौधरीले नकुटेको भन्दै उनलाई जोगाएका छन् । गुरुङले विभिन्न बहाना बनाएर यादव आफै ढल्ने गरेको र त्यो दिन पनि सबै सिनियर प्रहरी अधिकृतकै अगाडि उनी उभिएकै ठाउँबाट ढलेको दाबी गरे । उनले केही नभएको भनेर अस्पतालले डिस्चार्ज गर्न लागे पनि यादव आफैले अस्पताल छाड्न नमानेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्