छिमेकीको गोरुलाई कोदालोले कुटेर अंगभंग बनाउने ब्यक्ति उर्लावारीबाट पक्राउ

छिमेकीको गोरुलाई कोदालोले कुटेर अंगभंग बनाउने ब्यक्ति उर्लावारीबाट पक्राउ

विराटनगर, २९ असार । छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडी बढाएको छ ।
मोरङको उर्लाबारी नगरपालिका–१ का ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरी जिल्ला अदालत मोरङमा अनुसन्धानका लागि म्यादथप गरिएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने गरिए पनि गोरु कुटेको घटनामा संलग्नलाई पक्राउ गरिएको यो पहिलो घटना हो ।
लिम्बूले उर्लाबारी नगरपालिका–१ का ४७ वर्षीय रमेश कार्की ढोलीले मावा खोलाको डिलमा बाँधेको गोरु कुटेको इलाका प्रहरी कार्यालय उलबारीका प्रहरी निरिक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।
तिमल्सिनाका अनुसार, कोदालो (फरुवा) ले कुटेर गोरुलाई अंगभंग बनाइएको छ । आफ्नो गोरु कुटेको भन्दै ढोलीले दिएको उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरी निरिक्षक तिमल्सिनाले बताउनुभयो । पुरानो रिसईवीका आधारमा लिम्बूले ढोलीको गोरु कुटेको खुलेको छ ।
घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ ।
पशु चौपायलाई कुटपिट गरेर अंगभंग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले गोरु कुट्दा पशु अधिकार उल्लंघन समेत भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्