विराटनगरको निमुवास्थित ३३ केभी प्रसारण लाइनको २ नम्बर सर्किट अवरुद्ध

विराटनगरको निमुवास्थित ३३ केभी प्रसारण लाइनको २ नम्बर सर्किट अवरुद्ध

विराटनगर, २९ असार । मोरङको उर्लाबारीमा १५ वटा विद्युतीय पोल बाढीले बगाएको छ । उर्लाबारी वितरण केन्द्रको राजघाट फिडरको पोल बगाउँदा आपूर्ति बन्द भएको प्राधिकरण विराटनगर क्षेत्रीय कार्यालय प्रमुख सचितानन्द यावदले बताए । उनका अनुसार अहिले राजघाट क्षेत्रमा अर्को फिडरबाट आपूर्ति सुचारु गरिएको छ । यस्तै, रंगेलीको महादेवामा पनि १० वटा विद्युतीय पोल बाढीले बगाएको छ । पोल बगाउँदा रंगेली क्षेत्रको विद्युत सेवा प्रभावित भएको यादवले बताए ।

केही स्थानमा ढलेका रुखले वितरण लाइनमा क्षति पुगेको छ । त्यस्ता स्थानमा रुख हटाएर लाइनको मर्मत गरी सेवा सुचारु गरिएकाे छ । दुहबी ग्रिड सबस्टेसनकाे स्वीचयार्ड पानीले डुबाएकाे छ । सबस्टेसनमा पानी भरिए पनि निकास हुन पाएकाले बन्द गर्नु पर्ने अवस्था नआएको यादवले बताए । पहाडी जिल्लामा पनि आपूर्तिमा समस्या छ । धरान–धनकुटा–संखुवासभा ३३ केभी लाइनमा समस्या आउँदा धनकुटा, संखुवासभालगायत जिल्लाकाे विद्युत सेवा अवरुद्ध छ ।

विराटनगरको निमुवास्थित ३३ केभी प्रसारण लाइनको २ नम्बर सर्किट अवरुद्ध छ । प्रसारण लाइनको पोल ढल्ने अवस्थामा पुगेकाले त्यसको संरक्षण कार्यका लागि आपूर्ति बन्द गरिएको हो । लाइन संरक्षणको काम सम्पन्न गरेर साँझसम्ममा आपूर्ति सुचारु गर्ने तयारी भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरण विराटनगर वितरण केन्द्रको कार्यालयमा पनि पानी पसेको छ । शनिबार साँझबाट कार्यालय जलमग्न भएको वितरण केन्द्र प्रमुख राजीव सिंहले बताए । कार्यालयमा २ फिटसम्म पानी जमेको छ ।

सडक निर्माण गर्दा पानी निकास हुने नहरको राम्रो व्यवस्थापन नगरिएकाले कार्यालय भएको स्थानतर्फ बगेर आएको उनले बताए । जलमग्न विराटनगर वितरण केन्द्र वितरण केन्द्र अन्तर्गत बाढीले १० वटा विद्युतीय पोल ढालेको थियो । अहिले मर्मत गरेर सेवा सुचारु गरिएको छ । क्षेत्रीय कार्यालय अन्तर्गत ८५ प्रतिशत सेवा सुचारु छ । बाँकी १५ प्रतिशत सुचारु गर्न केही दिन लाग्ने क्षेत्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्