विराटनगर भन्सारबाट भित्रिन सकेनन् मालवाहक सवारी,मिरगन्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक

विराटनगर भन्सारबाट भित्रिन सकेनन् मालवाहक सवारी,मिरगन्ज खोलाको पुलबाट सवारी आवागमनमा रोक

नवराज कट्टेल

विराटनगर, असार ३१ गते । विराटनगर भन्सार रानीसँग सीमा जोडिएको भारत फारविसगन्जस्थित अररिया जिल्लाको मिरगन्ज खोलाको पुलबाट मालवाहक सवारी आवागमनमा भारतीय प्रशासनले रोक लगाएको छ । एक सातादेखिको वर्षाका कारण खोलाको जलस्तर बढेपछि जोखिम हुनसक्ने भन्दै नेपालमा मालवस्तु बोकेर आउने ढुवानीका मालवाहक सवारीलाई रोक लगाइएको हो ।
शनिबार साँझ ८ बजदेखि लागू हुने गरी कार्यालय अनुमण्डल पदाधिकारी, फारविसगन्जले स्थानीय प्रहरी प्रशासन, अररिया जिल्ला प्रशासन र प्रहरीलाई पत्र लेख्दै कुनै पनि सवारी साधन आवत–जावत गर्न नदिन आदेश गरेपछि आर्थिक वर्षको अन्त्यमा रानी भन्सारको राजस्व असुलीसमेत प्रभावित बनेको छ ।

विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना समन्वय अधिकारी मणिराम पौड्यालका अनुसार मिरगन्ज पुल कटेर शनिबार रातिदेखि कुनै पनि सवारी आउन पाएका छ्रैनन् । दैनिक १५ करोड राजस्व असुली हुँदै आएको भन्सारमा आइतबार चार करोडको हाराहारी र सोमबार त्यसको आधा मात्रै राजस्व सङ्कलन हुने अनुमान गरिएको छ ।

भन्सार अधिकृत पौड्यालका अनुसार अरू दुई दिनसम्म पनि मिरगन्ज पुलबाट सवारी आवागमन सहज नभए विराटनगर भन्सारको राजस्व शून्यमा झर्नेछ । नेपालका उद्योगसमेत वर्षाको प्रभावमा परेका कारण औद्योगिक कच्चा पदार्थभन्दा इन्धनको आवश्यकता महसुस गरेर जिल्ला प्रशासन कार्यालय मोरङले उद्योग वािणज्य तथा आपूर्ति मन्त्रालयमा वस्तुस्थितिको विषयमा आइतबार जानकारी गराइसकेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मन्त्रालयमा पत्राचार गरेर इन्धनका ट्याङ्करलाई तत्काल भन्टाबारी नाका हुँदै प्रवेशाज्ञा मिलाई दिन आग्रह गरिएको बताउनुभयो । ‘इन्धनको हाहाकार हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयमा पत्राचार गरेको छु’ प्रमुख जिल्ला अधिकारी केसीले भन्नुभयो, तत्काल ट्याङ्कर ल्याउनुपर्ने देखिएको छ ।

 

प्रमुख जिल्ला अधिकारी केसीले समकक्षी भारत अररियाका डिस्ट्रिक मजिस्ट्रेट (डीएम) बैजनाथ यादवसँग सोमबार बिहान टेलिफोनमा कुराकानीसमेत गरेको जानकारी दिनुभयो । ‘पानीको बहाव घटेपछि पुलको प्राविधिक अवस्था हेरेर छोडिने बताइएको छ’ प्रमुख जिल्ला अधिकारी केसीले डीएम यादवसँग भएको कुराकानीको सन्दर्भ जोड्दै भन्नुभयो–वैकल्पिक नाका भन्टाबारी हुँदै इन्धनका ट्याङ्कर ल्याउनु नै उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्