विराटनगरका बाढी पीडितलाई राहत एक अँजुली भुजा, सेल्फी मोह बढी

विराटनगरका बाढी पीडितलाई राहत एक अँजुली भुजा, सेल्फी मोह बढी

विराटनगर-बाढीपीडितहरू यतिबेला राहतको प्रतीक्षामा छन् । अहिलेसम्म विस्थापित बाढीपीडितले पर्याप्त राहत पाउन सकेका छैनन् ।
घरबारविहीन बनेका उनीहरू भोकभोकै छन् । तर, राहतका नाममा केही संस्थाहरूले पीडितको घाउमा झनै नूनचुक छर्ने काम गरेका छन् । राहतका नाममा एक बोरा भुजिया लिएर पुग्ने र दिँदै गरेको फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने थुप्रै संस्था भेटिएका छन् । तीनै मध्येको नेपाल रेयुकाई पनि हो ।

नेपाल रेयूकाई केन्द्रीय कार्यालय काठमाडौंले प्रतिव्यक्ति एक–एक अञ्जुली भुजा वितरण गरेको छ । विराटनगर–१२ स्थित बखरीका बाढीपीडितहरू रेयुकाईले भुजा वितरण गरेको हो । त्यसो त रेयुकाई मात्रै होइन अन्य सामाजिक संघसंस्था र व्यक्तिहरू पनि बाढीपीडितको पीडाप्रति संवेदनशील र गम्भीर भएको पाइएको छैन । उनीहरूले बाढीपीडितलाई केही राहत दिने र तस्बिर खिचेर हतारहतार सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । लायन्स क्लबले वितरण गरेको राहतको एउटा तस्बिर पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । “एक अञ्जुली भुजाले के गर्नु दुई दिनदेखि एकछाक खाएर बसेका छौं,” विराटनगर–१२ मलंवाका बाढीपीडित सचिन्द्र यादवले भने, “राहत लिएर आउनेहरू हाम्रो पीडामा दुःख व्यक्त गर्नुभन्दा फोटो खिच्न व्यस्त देखिन्छन् ।”
उनले अहिलेसम्म सरकारका तर्फबाट कुनै राहत नआएको गुनासो पोखे । उनीहरू स्थानीय विद्यालयमा बसिरहेका छन् । वर्षा रोकिए पनि मनभित्रका पीडा र दुःख नरोकिएको उनले सुनाए । डुबानमा परेर घरको सम्पूर्ण खाद्यन्न नष्ट भएको उनको भनाइ छ । भुसको घर भत्किएको छ । त्यसो त उनी मात्रै होइन स्थानीय पूर्णी सहनीको पनि पीडा उस्तै छ । राहत लिएर आउनेले एक अञ्जुली भुजा र एक प्याकेट च्याउचाउ दिएर जाने गरेका छन् । सामाजिक संघसंस्थाले राहतलाई हलुका रुपमा लिने गरेको सहनीको भनाइ छ । घरमा रहेको सम्पूर्ण लत्ताकपडा र खाद्यन्न भिजेर नष्ट भएको उनले गुनासो पोखिन् । केशलियाको पानी वस्तीमा पस्दा स्थानीय ३ सयभन्दा बढी घरपरिवार विस्थापित भएको छ । मोरङमा ६ हजारभन्दा बढी विस्थापित भएका छन् । गत वर्ष पनि केशलिया फुटेर बाढी बस्तीमा पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्